News Nepal

रमेश खरेलले किन समातेनन् ब्रिफकेस ?

प्रकाशित मिति : 6:18 am, July 24, 2015

२८ जेठ, काठमाडौं । नेपाल प्रहरीमा ३२ वर्ष सेवा गरेर निवृत्त भएका पूर्वएआइजी रमेश श्रेष्ठ आफ्नो सेवाकालमा न कुनै चर्चामा आए, न कुनै विवादमा मुछिए । अवकाश पाइसकेपछि भने उनी एकाएक एसएसपी रमेश खरेलसँग जोडिएर चर्चामा आए । आखिर के भएको थियो हनुमानढोकामा रमेश खरेल र रमेश श्रेष्ठवीच ? दुई रमेशको विवादका साथै अहिलेको एआइजी बढुवा प्रकरण, ब्रिफकेसको चर्चा र प्रहरी नियमावलीबारे अनलाइनखबरले पूर्वएआइजी श्रेष्ठसँग गरेको कुराकानी- केही समयअघि हनुमानढोका गएका बेला एसएसपी रमेश खरेलले तपाईमाथि अपमानजनक व्यवहार गरेको चर्चा चलेको थियो, खास के भएको हो ? मलाई खरेलले ‘मिस बिहेभ’ गरेकै हो । अवकाश भइसकेपछि अन्याय भयो भने जाने ठाउँ जिल्ला प्रशासन कार्यालय अथवा प्रहरीमा कार्यालय नै हो । मेरो हकमा त्यहाँ निवेदन पर्‍यो । एकजना व्यक्ति, जसले मलाई ०५५/०५६ सालमा जग्गा बेचेका थिए, ती व्यक्तिले मसँग १६ लाख रुपैयाँ लिनुपर्ने बाँकी छ भन्ने दाबी गरेर हनुमानढोकामा निवेदन दिए । १६ लाख बाँकी छ भने कुनै न कुनै प्रमाण त उसँग हुनुपर्छ । तर, कुनै प्रमाण छैन । केवल मुखका भरमा १६ लाख दाबी गरेर उनले निवेदन दिए । पहिलो कुरो त यस्तो लेनदेनको निवेदन प्रहरीले हेर्ने नै होइन, यो जिल्ला प्रशासनमा जान्छ या अदालतमा जान्छ । तर, यस विषयमा किन रमेश खरेलले चासो लिनुभयो, यो एउटा गम्भीर विषय हो । किनभने त्यहाँ एउटा पूर्वएआइजीलाई ल्याएर मैले यस्तो व्यवहार गरें भनेर मिडियाबाजी गर्ने उहाँको पूर्वयोजना रहेछ । त्यसदिन भएको खास घटनाचाँहि के हो ? त्योभन्दा अगाडि डीएसपीको च्याम्बरमा बसेर छलफल भइसकेको थियो । त्यसको तीन दिनपछि म त्यहाँ पुगेको छु । डीएसपी के भन्छन् भने यो केस एसएसपी रमेश खरेल आफैंले हेर्छु भन्नुभएको छ । एउटा कार्यालय प्रमुखले क्षेत्राधिकार बाहिरको निवेदनलाई आफैंले हेर्नुपर्ने इन्ट्रेस्ट के हो ? ल ठीक छ, उहाँले हेर्नुहुन्छ, म त एउटा विपक्षीका रुपमा गएको हो । जानु पनि पर्‍यो । भोलि साँच्चिकै १६ लाख रुपैयाँ तिर्नुपर्ने हो कि ? म गइँन भने आक्षेप आउला । त्यसैले एउटा पवित्र कार्यालयको मर्यादा राखेर म गएको हो । म पूर्वएआइजी भए पनि अहिले त सामान्य नागरिकसरह हो, कार्यालयको मर्यादा त मैले राख्नुपर्छ । यो सोचेर म गएँ । तर, खरेलको च्याम्बरमा गइसकेपछि मलाई एक वचन पनि सोधिएन । यो १६ लाखको कुरो के हो भनेर सोध्नु त पर्‍यो नि । बुझ्नु त पर्‍यो नि । एकैचोटि उहाँले के भन्नुभयो भने तपाईले १६ लाख तिर्नुपर्ने देखिन्छ । तपाईले यो १६ लाख तिर्नुपर्छ भनेर उहाँले मलाई सीधै भन्नुभयो । पूर्वएआइजीलाई मर्यादा गर्नुपर्ने कुनै संस्कारै छैन त्यहाँ । सिभिलियनलाई गर्नुपर्ने व्यवहार पनि गरिएन । पक्ष-विपक्ष दुबैको कुरो त सुन्नपर्‍यो नि ।

434 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons