News Nepal

काठमाडौँमा नेटवर्कको क्षमता बढाउँदै एनसेल

प्रकाशित मिति : 5:41 am, August 11, 2015

काठमाडौ, साउन २५–एनसेलले काठमाडौं उपत्यकामा भ्वाइस तथा डेटा क्षमतालाई दुई गुणा बृद्धि गर्ने लक्ष्य सहित आफ्नो नेटर्वक अपग्रेड गरिरहेको जनाएको छ । जसले ग्राहकहरुलाई गुणस्तरीय संचार सेवा तथा उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने एनसेलको दाबी छ । ncell “नेटर्वकको कभरेज तथा क्षमता दुवै बढाउने उद्देश्य अनुरुप हाल हामी नेटर्वकको प्रमुख अपग्रेडेसनको काम गर्दैछौं । हालसम्म ५० प्रतिशत भन्दा बढी नेटर्वकको अपग्रेड गर्ने काम पूर्ण भइसकेको छ र भदौ महिनाको आधा सम्म बाँकी काम पनि पूर्ण हुनेछ । हामीले काठमाडौं उपत्यकामा ४२ एमबी प्रति सेकेन्डसम्मको डेटा स्पिड प्रदान गर्ने लक्ष्य राखेका छौं ।
यो भनेको हाल हामीले उपत्यकाका केहि भागमा प्रदान गरिरहेको स्पिड भन्दा लगभग दुई गुणा बढी हो,” एनसेलका प्रमुख प्राविधिक अधिकारी आन्द्रास पालीले भने । नेटर्वक अपग्रेडेसन अन्तर्गत एनसेलले बढी क्षमता भएका, कम वजनका, कम उर्जा खपत गर्ने र कम कार्बन निष्कासन गर्ने टावर जडान गरिरहेको छ । यसका साथै नेटर्वक कभरेज बढाउन थप टावर पनि जडान गरिरहेको छ ।
यी टावरहरु दुरसंचार प्राधिकरणका नयाँ नियम तथा निर्देशिकाले भने बमोजिम कम उचाई तथा वजनका छन् । साथै प्रमाणपत्र प्राप्त घरहरुमा मात्र टावर जडान गर्ने जानकारी पनि पालीले दिए । एनसेलले वैशाख १२ को महाभूकम्प पश्चात केहि ठाउँमा छतमा रहेका टावरहरु झिकिएका कारण नेटवर्कमा उत्पन्न भएको ग्यापलाई पनि निराकरण गर्ने कार्य गरिरहेको छ । भुकम्पले गर्दा संरचनामा जोखिम देखापरेका घरबाट एनसेलले हालसम्म ३० वटा टावरहरु हटाएको छ । एनसेलले “सेल अन ह्वील” र “सेल अन लेग” जस्ता छिटो प्रविधि परिचालन गरि यी ग्यापलाई परिपूर्ति गर्दै सेवा सुनिश्चित गरिरेको छ ।
“हामी दुईवटा एप्रोच लिई काम गरिरहेका छौंः नेटवर्क अपग्रेडेसन तथा यसको दीर्घकालीन विस्तार, र नेटर्वकमा समस्या भएको क्षेत्रमा तत्काल समाधानका लागि अस्थाई तथा छिटा प्रविधिको परिचालन । ठूलो स्तरको नेटवर्क अपग्रेडेसनको काम चलिरहेको हुदाँ ग्राहकहरुले नेटवर्कमा केही समस्या अनुभव गर्न सक्छन् । यो अस्थाइ समस्या हो । त्यसैले हामी आफ्ना ग्राहकलाई संयम भईदिन अनुरोध गर्दै छिट्टै नै थप गुणस्तरीय संचार सेवाबाट लाभान्वित गराउने जानकारी दिन चाहन्छौं,” पालीले भने ।

170 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons