News Nepal

वार्ताका लागि संविधान नरोक्ने ४ दलको निर्णय

प्रकाशित मिति : 7:05 pm, August 30, 2015

काठमाडौं : प्रमुख चार राजनीतिक दलले संविधान लेखनको जारी प्रक्रियाभित्रै असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै प्रक्रिया निरन्तर अघि बढाउने निष्कर्ष निकालेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको आज बिहानको बैठकले संविधान लेखनको प्रक्रिया निरन्तर अघि बढाउनुका साथै वार्ताका लागि पनि सक्दो पहल गर्ने सहमति गरेको हो।

बैठकमा संविधान लेखन प्रक्रिया र प्रधानमन्त्रीले असन्तुष्ट मधेसीवादी दललाई वार्ताका लागि पठाएको पत्रको जवाफका बारेमा छलफल भएको एमाले नेता माधवकुमार नेपालले बताए।

मधेसी मोर्चामा आबद्ध दलले तत्काल वार्तामा नबस्ने पत्र पठाएको सम्बन्धमा प्रमुख दलले पुनःवार्ताका लागि आह्वान गर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए।

चार दलले संविधान लेखन प्रक्रियाभित्रै वार्ताद्वारा असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै संविधान निर्माण प्रक्रियामा ढिलाइ नगर्ने निष्कर्ष निकालेका छन्। संविधानसभा नियमावली अनुसार संविधानको विधेयकमाथिको छलफल आज सकिएपछि संशोधनका लागि सात दिनको समयावधि रहनेछ ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा नियमावलीअनुसारको सात दिन संशोधनको म्याद यथावत् राखेर सोही अवधिमा मधेसी मोर्चालाई वार्तामा बोलाउने बारेमा छलफल भएको बताए।

मोर्चाबाट आएको पत्रको जवाफका सम्बन्धमा प्रमुख दलले संविधान लेखन प्रक्रिया नरोकिने र असन्तुष्ट दललाई संशोधनको अवधिभित्रै वार्तामा आएर सामेल हुन आग्रह गर्ने निर्णय भएको उपसभापति पौडेलले उल्लेख गरे।

विगत पाँच दिनदेखि संविधानसभामा संविधानको परिमार्जित विधेयक–२०७२ माथि छलफल जारी छ । संविधान लेखन प्रक्रियामा असन्तुष्ट दललाई सहभागी हुन प्रमुख चार दलकातर्फबाट प्रधानमन्त्रीले वार्ताका लागि पटक–पटक प्रयास गरे पनि उनीहरुले वातावरण नभएको भन्दै वार्तामा बस्न मानेका छैनन् । रासस

486 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons