News Nepal

सेयर बजारमा नयाँ इतिहास रचिएको छ

प्रकाशित मिति : 10:05 pm, August 22, 2015

काठमाडौँ, भदौ ५  -यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८८.८७ अङ्कले बढेको छ । गत साता यस्तो परिसूचकमा पहिलो दिनको तुलनामा २५.०० अङ्कले बढेको थियो ।   नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो साता अन्तिम दिन एक हजार २००.९२ अङ्कमा पुगेको छ । यो नै नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो । गत साताको अन्तिम दिन एक हजार ८८.४२ अङ्कमा पुगेको थियो ।   यस साता एक्सचेन्जमा १६९ कम्पनीको २४ हजार ६३५ कारोबारबाट रु चार अर्ब ९३ लाख नौ हजार बराबरका ८४ लाख २६ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २६.१२ प्रतिशत बढी हो ।   गत साता १६८ कम्पनीको २१ हजार ४८७ कारोबारबाट रु तीन अर्ब १८ करोड १२ लाख २७ हजार बराबरका ५५ लाख ६४ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।   यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक समूह ११३.६, विकास बैंक ३५.०५, वित्त कम्पनी १४.०२, होटल समूह २१९.५३, बिमा समूहको १४०.९, उत्पादन मुलक समूहको ११३.३८ र अन्य समूहमा ७०.४८ अङ्कले वृद्धि भएको छ भने जलविद्युत् समूह २.५८ र व्यापार समूहमा ६.४१ अङ्कले ओरालो लागेको थियो ।   ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पहिलो दिनको तुलनामा २१.०४ अङ्कले बढेर २६२.१० अङ्कमा आइपुगेको छ ।   यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा छ ।   यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।   यो साता मिर्मिरे माइक्रो फाइनान्सको दुई लाख कित्ता साधारण सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस

362 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons