News Nepal

हाइड्रो र जडीबुटीमा ६ नम्बर प्रदेश अगाडि छ

प्रकाशित मिति : 11:54 am, August 9, 2015

                                                                      भवानी राणा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

 

सबै प्रदेशहरु हिमाल, पहाड र तराईसँग जोड्नुपर्छ भन्ने मेरो मान्यता थियो । तर, प्रस्तावित ६ प्रदेशमा २ नम्बर र पाँच नम्बर क्षेत्र हिमालसँग जोडिएनन् । दुई नम्बर क्षेत्रलाई त पहाडबाट पनि अलग पारिएको छ । समानुपातिक विकासका लागि हिमाल, पहाड र तराई तीनवटै क्षेत्र आवश्यक पर्छ भन्ने मेरो बुझाइ हो ।

rana-bhawaniप्रस्तावित ६ प्रदेशलाई सरसर्ती हेर्दा सबैमा उत्तिकै सम्भावना भएको देखिन्छ । कुनै न कुनै हिसाबमा हरेक प्रदेश अब्बल देखिएका छन् । कतिपय क्षेत्र उद्योगका लागि अगाडि छन् भने कतिपय प्रदेश हाइड्रो, कृषि र पर्यटनका लागि अगाडि देखिएका छन् । एक नम्बर प्रदेश पर्यटन, कृषि, उद्योग, जडिबुटीका लागि राम्रो क्षेत्र हो । यहाँ झापा, मोरङ र सुनसरी जस्ता अग्रपंक्तिका जिल्लाहरु रहेका छन् । यी जिल्ला कृषि उत्पादन र उद्योग धन्दाका लागि प्रशिद्ध छन् ।

यस क्षेत्रको पहाडी इलाका जडिबुटी र नगदेबालीका लागि प्रशिद्ध मानिन्छ । यस क्षेत्रमा फल्ने अलैंची महंगोमा बिक्री हुने गर्छ । यस क्षेत्रमा अन्य जडिबुटी पनि उत्तिकै उत्पादन हुन्छ ।

पर्यटनका हिसावले पनि १ नम्बर क्षेत्र अगाडि देखिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि अन्य ठूला हिमालहरु यस क्षेत्रमै रहेका छन् । जहाँ नेपाल भ्रमणमा आउने धेरै पर्यटक पुग्ने गर्छन । दुई नम्बर प्रदेशमा तराईका जिल्लामात्र छन् । यसरी छुट्टाउनु हुँदैनथ्यो । पहाड र हिमालसँग पनि यस प्रदेशलाई जोड्नुपर्छ । यो प्रदेश ठूलो आर्थिक कृयाकलाप हुने क्षेत्र मानिन्छ । सबैभन्दा बढी उद्योगधन्दा यही क्षेत्रमा रहेका छन् । वीरगञ्ज भन्सारबाट ५० प्रतिशत भन्सार संकलन हुने गर्छ ।

तीन नम्बर प्रदेशमा हाइड्रो र टुरिज्मको प्रशस्त सम्भावना रहेको छ । केन्द्रसँग जोडिएको हुनाले पनि यस क्षेत्रमा धेरै आर्थिक क्रियाकलाप हुने गर्छ । यस क्षेत्रमा पनि उद्योग व्यवसाय प्रशस्त सञ्चालनमा रहेका छन् । चौथो प्रदेश पनि कृषि, जडिबुटी र पर्यटनका लागि महत्वपूर्ण रहेको छ । मुलुकको दोस्रो पर्यटकीय गन्तव्य पोखरा यहीँ रहेको छ भने विश्वकै प्रशिद्ध ट्रेकिङ क्षेत्र अन्नपूर्ण पनि यहीँ रहेको छ । हाइड्रोपावरका लागि पनि यो क्षेत्र राम्रो मानिन्छ ।

लुम्बिनीसँग जोडिएको हुँदा पाँचौं प्रदेश पनि अब्बल रहेको छ । हिमालसँग नजोडिए पनि यस क्षेत्रमा प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनीदेखि वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध बर्दिया राष्ट्रिय निकुञ्ज यही क्षेत्रमा पर्छ । यसका साथै ५ नम्बर क्षेत्र उद्योग व्यवसायका लागि पनि अग्रस्थानमा रहेको छ । नेपालको तेस्रो ठूलो नाका सुनौली पनि यहीँ पर्छ । हाइड्रोपावरका लागि पनि यो क्षेत्रमा सम्भावना रहेको छ ।

नेपालगञ्ज ६ नम्बर क्षेत्रमा जानका लागि ट्रान्जिट प्वाइन्ट हो । सुन्दरताको खानी ६ नम्बर क्षेत्रमा जान नेपालगञ्ज रात बिताउने ठाउँ हो । मैले सबैभन्दा बढी सम्भावना भएको प्रदेशका रुपमा ६ नम्बरलाई देखेँ । किनभने यहाँ हाइड्रोपावरको सबैभन्दा ठूलो सम्भावना रहेको छ । ठूला-ठूला हाइड्रो प्रोजेक्टहरु यही क्षेत्रमा बन्दैछन् ।

यसका अलवा पर्यटनका लागि पनि यो क्षेत्र अब्बn रहेको छ । प्रादेशिक सरकारमा भिजन भएको मान्छेले नेतृत्व गर्न पाएमा ६ नम्बर क्षेत्र सबैभन्दा धनी प्रदेश बन्ने निश्चित छ । अहिले यहाँ पूर्वाधार र कनेक्टिभिटीको आवश्यकता छ । यस क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी अरु क्षेत्रमा पाइँदैनन् ।

 

166 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons