News Nepal

डा. गोविन्द केसीले भने,‘माफियाले प्रधानमन्त्री नै किनेछन्’

प्रकाशित मिति : 5:17 am, September 9, 2015

काठमाडौं  – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसीले प्रधानमन्त्रीलगायत सिंगो मन्त्रिपरिषद्लाई मेडिकल माफियाले खरिद गरेको र तिनकै डरले सरकार आम मानिसको हितमा कदम चल्न डराइरहेको बताएका छन्।

१३ दिन लामो अनशनपछि शनिबार मध्यरात भएको सहमतिबाट सरकार पछि हटेपछि डा. केसीले विज्ञप्तिमार्फत सरकार भ्रष्ट, अपराधी र माफियाको प्रलोभन वा डरमा परेको बताएका हुन् ।

अनशन तोडेको तेस्रो दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका डा. केसीले आफू मन्त्रिपरिषदको नालायकी देखेर निकै दुःखी भएको भन्दै बिहीबारसम्म सरकारले सम्झौता कार्यान्वयन नगरे शुक्रबारैदेखि सातौं आमरण अनशन सुरु गर्ने घोषणा गरे ।

अनशन सहमतिपछि सोमबारको मन्त्रिपरिषदबाट चिकित्सा शिक्षा आयोग बनाउने सहमति गरे पनि सरकारले सम्झौता पन्छाउने गरी सामाजिक समितिमा पठाएको छ। समिति यसअघिदेखि नै माथेमा आयोगको प्रतिवेदन र केसीका मागप्रति अनुदार छ।

डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै ‘भ्रष्ट, अपराधी र माफियाले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदलाई नै खरिद गरेका हुन् वा तिनको डरले आम मानिसको हितमा एउटा कदम पनि राज्यले उठाउन सक्दैन भने त्यो दुर्भाग्यपूर्ण अवस्था अन्त गर्न हामी सबै आआफ्नो ठाउँबाट लाग्नैपर्ने भएको छ’ उल्लेख गरेका छन्। उनले ‘सरकारी मान्छेले नै गरेको सहमति राज्यले मान्दिनँ भन्नुजस्तो गैरजिम्मेवारी र लाजमर्दो केही हुनै नसक्ने’ पनि बताएका छन्।

‘राज्य विधिले नचलेर माफियाहरुको धम्की, घुर्की र घुसले चल्ने हो भने संविधान केका लागि बनाउने भन्ने गम्भीर प्रश्न उठ्न गएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘एउटा सामान्य सम्झौता नमान्ने राजनीतिज्ञले संविधानमा लिपिबद्ध हुने हजारौं कुरा कसरी मान्लान् भन्ने अर्को प्रश्न पनि यहाँ खडा भएको छ।’ आजको नागरिक देनिकमा खबर छ ।

374 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons