News Nepal

संविधान निर्माण प्रक्रिया स्थगन गरौं !

प्रकाशित मिति : 11:16 am, September 10, 2015

  – विजयकुमार 

‘अवस्था यस्तो पनि आउँछ, जब सबैलाई छर्लंग भइसक्छ– अब लक्ष्यमा पुग्न सकिन्न। त्यस्तो अवस्थामा पनि लक्ष्य परिवर्तन नगर, पाइतालाको गति परिवर्तन गर’ – कन्फ्युसियस

आदरणीय नेतात्रय प्रधानमन्त्री सुशील कोइरालाजी, केपी ओलीजी र प्रचण्डजीलाई संविधान निर्माण प्रक्रिया केही दिन स्थगन गर्न विनम्र अनुरोध गर्न चाहन्छु। अनिष्ठकारी चक्रव्यूहमा पस्न हतारो नगरौं भन्ने पूरा जिम्मेवारी र विनम्रतासाथ म अनुरोध गर्छु।

थाहा त मलाई पनि पूरापूर छ, केही दिन प्रक्रिया स्थगन गरेर वार्तामा बसे पनि उपलब्धिमूलक परिणाम आउने सम्भावना झिनो छ। परिस्थितिको तकाजा हेरेर, त्यो एक प्रतिशत सम्भावना पनि किमार्थ छाड्नुहुन्न भन्ने मान्यता म राख्छु।

मेरो ३७ वर्ष लामो पत्रकारिता जीवनमा हिजोआजका जस्ता पीडादायक क्षण कहिल्यै आएन, जब नेपाली–नेपालीबीच साम्प्रदायिक र क्षेत्रीयताको ध्रुवीकरण यति धेरै बढेको होस्। विजय गच्छदारको फोरम लोकतान्त्रिकसमेत संविधानसभाबाट बाहिरिएपछि स्थितिमा निर्णायक परिवर्तन भएको छ। चौथो राजनीतिक शक्ति राप्रपा नेपाल पनि प्रक्रियाबाट बाहिरिएको छ।

प्रश्न फोरम लोकतान्त्रिकका १४ सभासद संविधानसभाबाट बाहिरिए भन्ने होइन। खतरा त मधेसवादी दलको बेन्च पूरै खाली हुँदै गयो भन्ने हो। यो निष्टकारी ध्रुवीकरणको संकेत हो।

त्यसैले केही समय ठन्डा दिमागले सोचौं। केही दिन प्रक्रिया स्थगन गरौं। त्यसले वार्ताको वातावरण बनाउन सहयोग मिल्छ। यहाँनेर नेतात्रयलाई उहाँहरूको लक्ष्य बदल्न आग्रह गरेको होइन, पाइतालाको गति परिवर्तन गर्न मात्र भनेको हुँ।

परिस्थितिको तकाजा, देशमा लागेको आगो, मनहरूमा फैलिएको विद्वेष र शंका–उपशंकाबीच पनि कसैले संविधान जारी गर्छु भन्छ भने त्यसलाई कठोरतापूर्वक ‘सावधान’ भन्नैपर्ने हुन्छ।

म जति विनम्रतापूर्वक नेतात्रयलाई सादर अनुरोध गर्दै छु, त्यत्तिकै दृढतापूर्वक नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका सभासद मित्रहरूलाई पनि विनित अनुरोध गर्न चाहन्छु– परिणाम देख्दादेख्दै नेतात्रय अनिष्ठकारी चक्रव्यूहमा देशलाई फसाउन चाहन्छन् भने तिनलाई आफ्नो मताधिकार प्रयोगले दृढतापूर्वक रोक्नु तपाईंहरूको राष्ट्रधर्म हो।

मलाई विश्वास छ, नेतात्रयले यो अग्निपरीक्षामा तपाईंहरूलाई जबर्जबस्ती झोस्ने छैनन्। त्यस्तै खाले परिस्थिति उत्पन्न गरिए, एक मुठी माटो हातमा लिएर अन्तरमनलाई सोध्नुहोला– केही दिन प्रक्रिया स्थगित गरेर देशमा लागेको आगोको ज्वाला र मलामीको संख्या घट्छ भने त्यो कोशिस गर्ने कि नगर्ने?

आलेख संविधानबारे छ। पृष्ठभूमि बुझ्न अनिवार्य छ।

नक्सा हेरेर मात्र नेपालको विषयमा खासै केही बुझिन्न। हाम्रो देश त्यति सानो होइन जति नक्सामा देखिन्छ। चीन र भारतबीच नच्यापिएको भए नक्सामा पनि नेपाल ठूलै देखिन्थ्यो। नेपालको भूराजनीतिक अवस्थिति एक यस्तो कठोर यथार्थ हो जसलाई बिर्सेर हामीले आ–आफ्नो मनचिन्ते घोडा दौडाउन त सक्छौं तर त्यो घोडाले हामीलाई धेरै टाढा पुर्याउन सक्दैन।

हो, कलियुगको साटो सत्ययुग भएको भए कुरा बेग्लै थियो। सत्ययुगमा आफूले भनेको ठाउँमा पुर्याउने मनचिन्ते घोडा त मामुली कुरा भयो, मानिस मनले चिताएको भरमा छोरा जन्माइदिन्थे।

संस्कृतमा शब्द छ– मानसपुत्र। अर्थात् त्यस्तो सन्तान जसको उत्पत्ति शारीरिक सम्भोगद्वारा नभएर मानसिक इच्छामार्फत् मात्र भएको होस्। जस्तो, भगवान चित्रगुप्त ब्रह्माका सत्रौं र अन्तिम मानसपुत्र थिए।

लेखिराख्नुपर्छ र? आजको युग सत्ययुग होइन, वैश्ययुग हो। यहाँ चिताउँदैमा केही हुँदैन। धेरै चिताए आफ्नै टाउको दुख्छ, अरू केही हुँदैन। धान्न सक्नेभन्दा बढ्ता चिताउन खोजे ‘ब्रेन ह्यामरेज’ हुने खतरा रहन्छ।

संविधानको आगमन एक राष्ट्रिय पर्वका रूपमा उल्लासपूर्वक मनाइनुपर्ने विषय हो  भएभरका सबैको चित्त बुझाउन नसकिए पनि अधिकांशले त सन्तोष मान्नुपर्ने विषय हो। यहाँ सन्तोषको त कुरै छाडौं, मंगल धुनको कल्पनै नगरौं, मलामीहरूको शोकधुनबीच हामीले कस्तो र कसका लागि संविधान जारी गर्न खोजेका हौं?

के यस्तो वातावरणमा जारी गरिएको संविधानले यो देशका मान्छेको निम्ति नेपालभित्रै कुनै नयाँ उत्साहयुक्त युगको सुरुआत गराउन सक्छ?

थोरबहुत साहस र अदम्य आशावादी दृष्टिकोण भएको मानिस हुँ म पनि। तैपनि ‘जो घिस्रिन जन्मेको हो, त्यो कहिल्यै उड्न सक्दैन’ भन्ने रुसी लेखक म्याक्सिम गोर्कीको कथन कतै हामीमाथि पनि लागू हुने त होइन भन्ने भयले मलाई समेत सताउन थालेको छ।

छ वर्षअघि एक दिन चक्रदाइ (चक्र बास्तोला) ले फ्याट्ट भने, ‘बुझ्यौ विजय! यो नेपाल भन्ने देश सुगौली सन्धिपछि न कहिले उदायो न अस्तायो ! यो रही मात्र रह्यो। यो नेपाल भनेकै रहिरहने मात्र हो जस्तो लाग्छ। ऐनकेन सर्भाइभ मात्र हुने हाम्रो नियति हो कि जस्तो लाग्छ … गीतमा उदाउने अनि गीतमै अस्ताउने ‘खै जीवनमा चाहीँ कहिले उदाउने होला !’

मैले चक्रदाइका कुरा पत्याइनँ।

किसुनजी पनि गहिरो अर्थ लुकेको ठट्टामा भन्थे, ‘नेपालमा कुद्ने र सुत्ने एकै समयमा पुग्छन्। यहाँ चाहिनेभन्दा छिटो हिँडेर कतै पुगिन्न। यहाँ चाहिनेभन्दा छिटो जो जो हिँडे, ती सबका सब लडे, विजयबाबु ! ’

मैले किसुनजीको ठट्टालाई गम्भीरतापूर्वक लिइनँ। कालान्तरमा जब राजा ज्ञानेन्द्र धेरै छिटो हिँडन खोज्दा पछारिए, तब मात्र मैले किसुनजीको भावार्थ बुझेँ।

किसुनजी र चक्रदाइ पलायनवादी मानिस होइनन्। कमजोर र कायर त हुँदै होइनन्। मातृभूमिप्रति कर्तव्यको पालन यिनले जति डटेर गरे, थोरैले गरेका होलान्। तर पनि, यिनले मलाई यथार्थ व्यक्त गर्दा सहजै विश्वास गरिनँ।

आजभोलि भने मनमा गम्भीर आशंकाले जन्म लिएको छ। के घस्रनु नै हाम्रो नियति हो त ? आज एसियाको दोस्रो गरिब राष्ट्र त छँदै छौं, अब अफगानिस्तानको स्थान लिँदै पहिलो नम्बरमा ओर्लने तयारी पो हो कि ?

अनिष्टकारी चक्रव्यूहमा फस्ने आत्मघाती हतारो नगरौं। यसका लागि केही समय संविधानसभाको प्रक्रिया स्थगित गर्नैपर्छ। यतिका वर्ष त कुरियो। राम्रो नराम्रो जे भए पनि अब संघीयताको एउटा विषयबाहेक मोटामोटी कुरा मिलेकै छ।

संघीयताको भूगोल मिलाउन केही दिन फेरि ठन्डा मस्तिष्कले सोचौं– सीमांकन ठूलो कुरा हो, तर देशभन्दा ठूलो होइन। सीमांकन ठूलो कुरा हो, तर जनताभन्दा ठूलो होइन।

राजा महेन्द्र पनि रातदिन भूगोलको कुरा गर्थे। मेचीकाली, कर्णाली र सगरमाथाका मीठा–मीठा गीत लेख्थे। उबेला दुनियाँ सजिलो थियो, वैश्ययुग आइपुगेको थिएन। चीन–भारतबीच मारामार युद्धको स्थिति थियो। आज त्यो स्थिति होइन।

बिपी कोइरालाले उहिल्यै राजा महेन्द्रलाई पटक–पटक सम्झाउन नखोजेका होइनन्– ‘सरकार ! देश भनेको भूगोल मात्र होइन, जनता पनि हो। जनता के भन्छन्, त्यसको हेक्का राख्नुपर्छ। भोलिका दिनमा हामी सबै नेपाली यो भू–भागबाट अन्यत्र गयौं अथवा हामी सबै नेपाली एकैपल्ट मर्यौं भने बाँकी रहेको भू–भाग नेपाल राष्ट्र कहलिन्छ कि कहलिँदैन ?’

सेनापति राजा महेन्द्रले बिपीको भावार्थ बुझेका भए आज नेपाली इतिहास अर्कै वाक्यहरूमा लेखिने थियो, तर त्यसो भएन। अब इतिहास त हाम्रो हातमा नहोला, तर भविष्य हामीले आज गर्ने क्रियाकलापमा भर पर्ने छ।

आज मलाई डर लाग्दै छ, आज टकरावको दुर्भाग्यशाली इतिहास दोहोरिने खतरा उत्पन्न भएको छ। त्यसको मूल्य यसपटक २०१७ सालको भन्दा कयौं गुणा चर्को हुनसक्छ। २०१७ सालमा त द्वन्द्व दुईपक्षीय मात्र थियो। सेनासहितका राजा र जनमतसहितका बिपीबीचको द्वन्द्व।

आजको द्वन्द्व बहुपक्षीय छ। सम्हाल्नुपर्ने मोर्चा बहुपक्षीय छन्।

यो खेलाँची गर्ने बखत होइन। उखानटुक्का र दोहोरी गीतको समय होइन। हिजो सबै मिलेर बसेका थियौं, आज यस्तो के भयो भन्ने नोस्टाल्जियाको डुंगामा बहेर यो भवसागर पार हुनेवाला छैन। विगतको नोस्टाल्जिया राम्रै कुरा हो, तर त्यसको भरमा मात्र वर्तमान चल्दैन।

संकटको यस घडीमा हामी सबै र विशेषगरी बौद्धिक नेतृत्व गर्नुपर्नेहरूले बुझ्नैपर्छ– अब समाजका गहिरा समस्याको सतही समाधान खोज्ने सनातनी बानीबाट मुक्त हुन अनिवार्य छ।

‘हिजो त हामी सबै मिलेर बसेकै थियौं, चलेकै थियो, आज के भयो ?’ भनेर रुवाबासी गर्न सामान्य पाठकलाई पूरापूर अधिकार छ। तर, बौद्विक नेतृत्व गर्ने अथवा गरेको छु भन्ने भ्रममा बस्नेहरूले रुवाबासी मात्र गरेर पुग्दैन। दुर्घटनामा रगताम्य बिरामीलाई देखेर इमर्जेन्सीका डाक्टर आफैं रुन थाल्यो भने के हुन्छ ?

सवाल ‘हिजो त सबै सँगै साथै बसेका थियौं, आज यस्तो के भयो !  हरे राम भगवान !’ भनेजस्तो सजिलो छैन। सवालको जबाफमा दिपेन्द्र झाले मंगलबार सेतोपाटीमा आफ्नो पक्ष राखेका छन्। मेरा निम्ति दिपेन्द्र झा एक प्रतिनिधि पात्र हुन्।

दिपेन्द्र झालाई पढेर म सोचनीय भएको छु। उनले भोगेको विभेद र अपमानका लागि लज्जाको अनुभूति गर्दैछु। केही स्थानमा उनले भोगेका अपमानले मेरो मनलाई हल्लाएर राखिदिएको भए पनि म उनका सबै तर्कसित सहमत छैन। तर, आज म उनीसँग शाब्दिक जुहारी खेल्न चाहन्न। म आफ्ना तर्कवाणको प्रहारले उनलाई परास्त गर्ने कोशिस पनि गर्न चाहन्न।

म दिपेन्द्र झाको पुस्ताका जायज पीडा बुझ्न चाहन्छु।

ठिक छ दिपेन्द्र भाइ, तपाईंले भनेझैं हामी सबै आ–आफ्नो मनको मैलो सफा गरौं। निर्धक्क भएर आफ्नो मनको पीडा पोखौं, गुम्सिएका भावनालाई आकार दिऊँ। त्यसो गर्दा आँखाबाट अश्रुधाराको गंगा प्रवाहित हुन्छ भने पनि परवाह नगरौं। भनिन्छ नि– ‘कहिलेकाहिँ हाम्रा आँखा आँसुले पखालिनैपर्छ ताकि हामीले नया दृष्टि राखेर संसार हेर्न सकौं।’

मधेसी र पहाडीबीचको सम्बन्धमा शोषण र विभेद मात्रै छ, अरू केही छैन भन्नु सही होइन। कति महिना पो बिते र, भुइँचालो गएको। मधेसका सामान्य किसानले आफ्नो गाँस काटेर पठाएको चामल पहाडमा कृतज्ञतासाथ खानेहरू जिउँदै छन्। भूकम्पग्रस्त सिन्धुपाल्चोक र दोलखामा निस्वार्थ सेवा गर्न आएका दर्जनौं मधेसी युवालाई गाउँहरूमा देख्ने मेरा आँखा अझै फुटेका छैनन्।

मानेखर्क र भोताङबीचको विकट पहाडी बस्तीमा शिक्षाको ज्योति फैलाउँदै आएका एक मधेसी शिक्षकले गाउँमा पाएको सम्मान धेरैका लागि लोभलाग्दो हुन सक्छ। थाहा छ, ती शिक्षक भुइँचालोमा परे। सानो बच्चा पनि बाँकी रहेन। आज ती शिक्षकको नश्वर शरीर बाँकी नहोला, तर उनले फैलाएको शिक्षाको सुवास वातावरणमा अझै छरिएको छ।

२४ वर्षीया सुजिता चौधरीको विवाह भर्खरै भएको थियो। उदयपुर माइती, सप्तरी घर। ‘टिच फर नेपाल’ की स्वयंसेविका उनी सिन्धुपाल्चोकको खत्रीथोकमा पढाउने काम गर्थिन्। प्रलयकारी भुइँचालोमा चेपिएर बितिन्। उनको निधनमा उनका विधार्थी र सारा गाउँ यसरी रोयो, मानौं आफ्नै रगतको साइनो बितेको होस्। तेह्रौं दिनमा सुजितालाई फूल चढाउने मौका मैले पनि पाएँ।

को कसको हो ? को कसको हो ? कसले भन्न सक्छ र ?

 

प्रिय दिपेन्द्र भाइ, यो नठान्नू कि म एक्कादुक्का उदाहरण दिएर मधेसी, थारु वा जनजातिप्रति विगतमा भएका व्यापक विभेद न्यूनीकरण गर्न खोज्दै छु। म त  फगत यति भन्न खोज्दै छु, तस्बिरलाई पूरै कालो वा पूरै सेतो भनेर चित्रित नगरौं।

पत्रकारिताको लामो अनुभवले मलाई सिकाएको छ– अतिरञ्जित उत्तेजनाले समाजलाई क्षणिक राप र ताप दिए पनि प्रकाश दिन सक्दैन।

पीडा र अपमानकै कुरा गर्ने हो भने मधेसीको मात्र होइन, गरिब पहाडीका पीडा पनि कसैभन्दा कम छैनन्। जसका मातापिताले जीवनमा लसुन–प्याजसमेत कहिल्यै छोएनन्, हो तिनै उपाध्याय बाहुनका छोराछोरी आज खाडीका एयरपोर्टमा संसारभरिका ‘विधर्मी’हरूले प्रयोग गर्ने शौचालय सोहोर्न बाध्य छन्। जसको भान्छामा मांसाहारको उपस्थिति कल्पनासम्म गर्न सकिन्नथ्यो, तिनै कुमाइ ब्राह्मणहरू ज्यान पाल्न विदेशमा गाईको मासु प्याक गर्न बाध्य छन्।

अपमान तपाईंको मात्र भएको छैन दिपेन्द्र भाइ, कुनै न कुनै बेला अपमान नभएको र विभेदमा नपारिएको कोही छैन। हामी आफूलाई जेसुकै ठानौं, हाम्रा पर्वतहरू जतिसुकै विशाल किन नहोऊन्, हाम्रो देश भने गरिबी र दरिद्रताको ‘डेड सी’ खाल्डो भएको छ।

गोपाल योञ्जनले एक दिन मेरो अगाडि कहिल्यै नबिर्सने गीत गाए:

जाग जाग भन्छन् सबले

कसरी म मात्र जागुँ ?

क्षयरोगी मेरी आमा

कसरी दूधको भाग मागुँ ?

एसियाको दोस्रो गरिब देशको हविगत योबाहेक अरू के पो हुन सक्थ्यो र ? अब त्यसले नपुगेर नानाथरी बितन्डा नथपौं। त्यसका लागि संविधानसभाको प्रक्रिया केही दिनलाई रोकौं र जबाफमा मधेसवादी दल, थरुहट लगायत सबैले आ–आफ्ना आन्दोलन केही दिन स्थगन गरौं।

ठन्डा मस्तिष्कले कुनै नयाँ सिर्जनात्मक उपाय सोचौं।

नेपालको संविधान एक–दुई सातापछि आउँदैमा रामराज्यको चिठ्ठा हाम्रो हातबाट फुस्कने त होइन होला नि ! फेरि हाम्रा नेता ब्रह्मा पनि त होइनन्, जसले एक्लै चिताउँदैमा उत्पादन गर्ने र उत्पादन गरिसकेपछि टिकाउने मानसी क्षमता राखून्।

त्यसैले जाँदाजाँदै, फेरि पनि कन्फ्युसियसलाई दोहर्याउँछु– ‘अवस्था यस्तो पनि आउँछ, जब सबैलाई छर्लंग भइसक्छ– अब लक्ष्यमा पुग्न सकिन्न। त्यस्तो अवस्थामा पनि लक्ष्य परिवर्तन नगर, पाइतालाको गति परिवर्तन गर।’

443 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons