News Nepal

मधेसी मोर्चालाई मनाउन बालुवाटारमा बैठकः यस्ता छन् निर्णयहरु

प्रकाशित मिति : 8:48 am, October 1, 2015

काठमाडौं–शीर्ष नेता सम्मिलित तीन दलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सीमांकन र संविधानको विरोधमा रहेका मधेसी दलका नेताहरुसँग अनौपचारिक छलफल गर्नुअघि बसेको शीर्ष नेता सम्मिलत तीन दलको बैठकमा सरकारद्वारा गठित वार्ता टोलीले हालसम्म गरेको अनौपचारिक वार्ताको समिक्षा गर्दै उनीहरुलाई कसरी सहमतिमा ल्याउने भन्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।

छलफलका क्रममा तीन दल राजनीतिक सहमतिका आधारमा प्रदेशहरुको सीमांकन हेरफेर गर्न सकारात्मक देखिएका छन् । बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै एमाओवादी उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य नारायणकाजी श्रेष्ठले संघीय आयोगको सिफारिसअनुसार राजीनितक सहमतिको आधारमा सीमांकन गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

उनले समावेशी समानुपातिकलाई आधार बनाएर संविधान संशोधन गर्न समेत आफूहरु तयार रहेको भन्दै नयाँ संविधानमा संशोधन गरेर सामाजिक न्यायको सवालमा समानुपातिक समावेशी राख्ने र हालको जिल्लाको भूगोलमा एक निर्वाचन क्षेत्र नहट्ने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव समेत बैठकले गरेको जानकारी दिए ।

यस्तै मधेसी दलसँग औपचारिक वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा भएका घाइतेको, उपचार , झुठा मुद्दाको फिर्ता , सेना फिर्ता , मृतकका परिवारलाई राहत वितरणलगायतका विषयमा पनि तीन दल सकारात्मक देखिएका छन् ।

यसैबीच वार्ता टोलीले मधेसी मोर्चाका एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ महन्थसँग १ बजे , बिजय कुमार गच्छदार नेतृत्वको मोर्चा तथा थरुहटसँग पनि आजै वार्ता गर्ने तय गरेको छ ।

325 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons