News Nepal

कांग्रेसमा ‘महाचुनाव’ को सकस

प्रकाशित मिति : 5:02 pm, February 17, 2016

– गगनले महामन्त्रीमा उम्मेदवारी दिनेछन्

– भारतले कुनै उम्मेदवारलाई समर्थन गर्छ कि गर्दैन ?

– कांग्रेस चुनावमा बाहुन भर्सेज क्षत्री ‘फ्याक्टर’

– सशांकले शेखरलाई भने, म आफैं उठ्छु

NC_ELECTION

२०३३ लाग्दासम्म नेपाली कांग्रेसले आह्वान गरेको सशस्त्र क्रान्ति सेलाइसकेको थियो। बिपी कोइराला लगभग नेपाल फर्किने निर्णयमा पुगिसकेका थिए।

त्यही साल भदौमा बिपी र गिरिजाप्रसाद कोइरालाकी आमा दिव्या कोइरालाको विराटनगरमा निधन भयो। भारत निर्वासनमा रहेका बिपी र गिरिजाप्रसाद दुवैलाई नेपाल–भारत सीमाबाट ४० किलोमिटर टाढै बस्नुपर्ने उर्दी इन्दिरा गान्धी सरकारको थियो। यही उर्दीका कारण दुवै छोराले आमाको अन्तिम संस्कारमा समेत भाग लिन पाएनन्।

त्यसको केही दिनपछि कोइराला परिवारका सदस्य गिरिजाप्रसादलाई भेट्न भारतको बिहार गए। भेट्न जानेमा बहिनीहरू विजयालक्ष्मी र कामना, भतिज निरञ्जन (शेखर कोइरालाका दाइ) र ज्वाईं लक्ष्मण बस्नेत थिए।

गिरिजाप्रसाद र सुशील कोइराला एउटा निजी गाडी चढेर आए। बहिनी विजयलक्ष्मीलाई गिरिजाप्रसादले सोधे, ‘बुनु, जाने बेला आमालाई कस्तो थियो? धेरै दुःख त भएन नि?’

उनले केही बेर भलाकुसारी गरे। चुरोट ताने। र, सुशीललाई ‘अब जाउँ’ भन्दै लिएर हिँडे।

विजयलक्ष्मीको एक पाकिस्तानी नागरिकसँग विवाह भएको थियो, जो पछि पाकिस्तानका विदेश सचिव बने। विजयलक्ष्मी क्यान्सरले सिकिस्त भएर अस्पातल भर्ना भएका बेला गिरिजाप्रसाद उनलाई भेट्न पाकिस्तान गए। क्यान्सरले थलिएकी विजयलक्ष्मीलाई डाक्टरले चुरोट पिउन मनाही गरेका थिए। गिरिजाप्रसादले सोधे, ‘बुनु, तँलाई चुरोट पिउने इच्छा छ?’

विजयलक्ष्मीले टाउको हल्लाइन्।

गिरिजाप्रसादले सबैलाई बाहिर निकाले। ढोका लगाए। झ्याल खोले। र, दाजुबहिनी बसेर चुरोट ताने।

केही बेर भलाकुसारीपछि गिरिजाप्रसाद बहिनीसँग बिदा मागेर हिँडे। बाटोमा भने, ‘बुनु अब धेरै बाच्दिन, खबर गर्नू।’

नेपाल फर्किएपछि गिरिजाप्रसाद राजनीतिमा व्यस्त भए।

थोरै परिवार मात्र त्यस्तो हुनसक्छ, जसले मृत्युलाई कोइराला परिवारले जस्तो सहजताका साथ लिन सक्छ। सुशील कोइरालाको निधन पनि अप्रत्यासित थियो। नेपाली कांग्रेस पार्टीले आफ्ना सभापतिको निधनमा १३ दिन शोक घोषणा गरेको छ। धेरैलाई लाग्न सक्छ, १३ दिनसम्म कोइराला परिवार शोकमग्न हुनेछ। राजनीतिक गतिविधि केही हुने छैनन्।

तर, कोइरालाहरूलाई जीवन र राजनीतिले मात्र उद्वेलित बनाउँछ। सुशीलको निधनपछि कोइरालाको विरासत कसले थाम्ने भन्ने बहस परिवारभित्र सुरु भैसकेको छ। सम्भवतः शोकको १३ दिन सकिनुअघि नै सशांक, शेखर र सुजातामध्ये कसको काँधमा कोइराला परिवारको विरासतको जिम्मेवारी पर्नेछ, त्यसको टुंगो लागिसक्ने छ।

एक जना कोइराला गए, अब अर्को अघि बढ्नेछ! कोइराला इज डेड, लङ लिभ कोइराला!

कोइरालाभित्रै को अगाडि?

सशांक, सुजाता र शेखर – यी दाजुबहिनी क्रमशः बिपी, गिरिजाप्रसाद र केशव कोइरालाका सन्तान हुन्। तीनमध्ये शेखर सबैभन्दा जेठा हुन् भने सशांक कान्छा।

कोइराला परिवारको विरासतका लागि सशांक र शेखरबीच मुख्य प्रतिस्पर्धा छ। यी दुई दाजुभाइले सुजातालाई धेरै महत्व दिन्नन्। न त आम कांग्रेस कार्यकर्ताले नै सुजातालाई यी दुईलाई जति गम्भीरताका साथ लिन्छन्। त्यही भएर शेखर र सशांकबीच प्रतिस्पर्धा सुरु भइसकेको छ। केही दिनअघि शेखरले रामचन्द्र पौडेललाई सभापतिमा उठाउने र आफू महामन्त्रीमा उठ्ने प्रस्ताव भाइ सशांकसँग राखे। यसमा आफूलाई सघाउन आग्रह पनि गरे।

सशांकले दुई दिनपछि जवाफ पठाए, ‘म धेरै अघि बढिसकेको छु, पछि फर्किन सक्दिन, बरु तपाईंले नै मलाई सघाउनुपर्छ।’

कोइराला परिवारमा रामचन्द्र पौडेललाई सभापतिमा अघि बढाउने सहमति छ। पौडेल भने यी दुईमा आफूले एक छान्नु नपरे हुन्थ्यो भन्नेमा छन्। सहमतिमा एक जना अघि बढ्न दुई दाजुभाइलाई उनले आग्रह गरेका छन्।

सुशील कोइराला जीवित हुँदै शेखर र सुजाताले रामचन्द्रलाई यसपालि सभापति बनाउनुपर्ने प्रस्ताव राखेका थिए। सशांक भने सुशील नै सभापति हुनुपर्ने पक्षमा थिए। शेखरले पौडेललाई भनिसकेका छन्, ‘तपाईंहरू मिलेर निर्णय गर्नुहोस् भनेर पन्छिन मिल्दैन, नेता हुने भएपछि हामीबीच एक जना तपाईंले छान्ने हो।’

यति भन्दाभन्दै परिवारमा को अघि बढ्ने भन्नेमा शेखर सार्वजनिक झगडा गर्ने पक्षमा पनि छैनन्।

राजनीतिक सुझबुझ, अन्तर्राष्ट्रिय सम्बन्ध र हिजो आफूलाई गरेको सहयोगका आधारमा मात्र हेर्ने हो भने शेखर छान्न रामचन्द्रलाई अप्ठ्यारो नहुनुपर्ने हो। तर, नेपाली कांग्रेस ‘बिपी कोइरालाको पार्टी’ हो। अहिले पनि बिपीको नाम जपेरै पार्टी चलेको छ। बिपीको नामले कांग्रेस कार्यकर्ता रोमाञ्चित हुन्छन्। उनको कल्पनाशीलता र व्यक्तित्वको सम्झनामा उनीहरूको मुटुको धड्कन बढ्छ।

बिपीपछि अरू कुनै नेताले नेपाली कांग्रेसको चारतारे झन्डामा खासै रंग भरेका पनि छैनन्। त्यसैले, विगतमा शेखरको साथ पाएका भए पनि रामचन्द्रले अन्ततः सशांकलाई छान्ने छन्। कांग्रेसका एक नेताले भने, ‘शेखर बिपीका छोरा हुन्थे भने कोइराला परिवारका अरू कसैले अहिले महामन्त्री पद चियाउन पनि पाउँदैनथे।’

सुशील अकस्मात् गए, जाने बेला कोइराला परिवारका ‘युवराज’ सशांक नै हुन् भन्ने संकेत नछाडी गएका होइनन्। उनले सशांकलाई जहिले पनि आफू नजिक राखे, शेखर र सुजातासँग भने दुरी राखे।

त्यसैले, कांग्रेस संस्थापन पक्षबाट अन्ततः रामचन्द्र र सशांकको जोडी सभापति र महामन्त्रीको उम्मेदवार हुने प्रबल सम्भावना छ।

संस्थापनभित्रै आकांक्षीहरूको लाम

यतिले मात्रै संस्थापन पक्षको लफडा भने सकिन्न। सभापतिका आकांक्षी अरू चार जना छन्– कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत र सुजाता कोइराला।

सुशील जीवित हुँदै सिटौलाले कांग्रेसका प्रमुख नेतासामु भनेका थिए, ‘म तपाईंबाहेक कसैलाई सभापतिमा छाड्दिन, तर तपाईंले जित्नुहुन्न, त्यसैले मेरा लागि मार्गप्रशस्त गरिदिनुहोस्।’

त्यसो त प्रकाशमानले पनि तीन प्रमुख नेताले यसपालि उठ्न नहुने र नेतृत्व आफ्नो पुस्तामा हस्तान्तरण हुनुपर्ने माग राखेका हुन्। यसो भने पनि उनले आफू एक्लै प्रतिस्पर्धा गरेर नेतृत्व लिने आँट गरेको देखिन्न। उनले गरेको सबभन्दा ठूलो प्रयत्न भनेको तीन नेतापुत्रलाई एक ठाउँ उभ्याउन हो।

आफू स्वयं, सशांक र विमलेन्द्र निधी एक ठाउँ उभिएर अरूलाई पाखा लगाउने उनको रणनीति थियो। पछि सशांकसँग मात्र मिलेर भए पनि लड्ने प्रयास उनले गरे। त्यसलाई न निधीले न त सशांकले गम्भीरतापूर्वक लिइदिए। आफ्नै बलबुतामा नदेखिएको सपना धेरै टाढा जान सक्दैन। प्रकाशमानको आँखा यतिबेला संसदीय दलको नेतामा छ। त्यो नभए एक्लो उपसभापति बन्नेमा छ।

सभापति पदका अर्का आकांक्षी रामशरण महतले पनि पछिल्लो एक–दुई महिना खुब जिल्ला दौडधुप गरे। उम्मेदवारी नै दिने तयारी भने उनको पनि देखिन्न। सत्ताको अनुभव र ‘वरिष्ठता’को दाबी महतको छ। उनी संस्थापन पक्षमा रामचन्द्र पौडेलपछि सबैभन्दा वरिष्ठ हुन्। शेरबहादुर देउवा नेविसंघका सभापति हुँदा त्यही कमिटीमा उनी महामन्त्री थिए। यही आधारमा कृष्ण सिटौला र प्रकाशमानभन्दा महत्वपूर्ण जिम्मेवारी आफूले पाउनुपर्ने महतको दाबी छ। संसदीय दलको नेतामा उनको पनि दृष्टि छ।

संस्थापन पक्षका लागि महतको महत्व अर्को कारणले पनि छ।

कांग्रेसभित्र धेरैले याद नगरेको एउटा भिन्न ‘डाइनामिक्स’ छ, ‘बाहुन भर्सेस क्षत्रीको’ भावना, जुन पछिल्ला वर्ष जबर्जस्त रूपले बढेको छ। एकछिनका लागि संस्थापन र देउवा पक्षका प्रमुख नेताको अनुहार सम्झिनुहोस्। देउवा पक्षमा सक्रिय चिनिने अनुहारमा रमेश लेखक मात्र बाहुन हुन्, जबकि लेखक स्वयं पनि देउवा समूहभित्र धेरै जुनियर छन्। उता, संस्थापन पक्षसँग अहिले रहेका प्रमुख नेतामा रामशरण एक मात्र क्षत्री हुन्।

देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा क्षत्री र बाहुनको विवादमा पार्टी विभाजन भएको थिएन। तर, आज बाहुन र क्षत्रीको भावना बलियो मात्र देखिएको छैन, चुनावमा पनि यो प्रतिविम्बत हुने गर्छ। विशेषगरी क्षत्रीहरूमा आफ्नो संख्याका बाबजुद बाहुनहरूले पार्टीमा हालीमुहाली गरेको गुनासो बढ्दो छ।

‘पछिल्लो महाधिवेशनमा मतपत्र गन्दा अर्जुननरसिंह केसीबाट सुरु भएको ‘टिक’ ज्ञानेन्द्रबहादुर कार्कीमा गएर टुंगिन्थ्यो,’ एक नेताले भने, ‘बाहुनहरू सबै छुट्थे, क्षत्री सबै पर्थे।’

अर्जुननरसिंहले पदाधिकारीमा संस्थापन पक्षबाट ठाउँ नपाउने भएपछि देउवा पक्षमा जाने लगभग निश्चित छ। यो अवस्थामा संस्थापन पक्षका लागि महतको अनिवार्यता झनै बढेको छ।

सुजाता कोइरालाले बाहिर जे भने पनि कांग्रेस पार्टीको विधान संशोधन गरेर एउटा महिला उपसभापति राख्नुपर्ने उनको एजेन्डा हो। त्यो उपसभापतिमा आफू मनोनित हुने उनको दाउ हो।

रामचन्द्र र सशांकको जोडीका लागि अहिले सबैभन्दा ठूलो टाउको दुखाइ सिटौला नै हुन्। उनी सभापतिमा उम्मेदवारी दिनेमा दृढ देखिन्छन्। महाधिवेशन प्रतिनिधिसँगको सम्पर्क र तयारीमा उनी नै अघि देखिएका छन्। संस्थापन पक्षबाट दुई जना सभापति उम्मेदवार हुन नहुने भन्दै सम्झाउन जाने सबै सानाठूला नेता–कार्यकर्तालाई उनले उल्टो सम्झाएर पठाउने गरेका छन्, ‘पहिलो राउन्डमा तीन जना उम्मेदवार भएर केही हुन्न, दोस्रो राउन्डमा संस्थापनबाट एक जना भइहाल्छ।’

कांग्रेसको अहिलेको विधानअनुसार सभापति निर्वाचित हुन महाधिवेशन प्रतिनिधिको ५० प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ। दुईभन्दा धेरै उम्मेदवारका कारण कसैको ५० प्रतिशत नआए पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच दोस्रो राउन्डको चुनाव हुन्छ। संस्थापनकै दुई जना उम्मेदवार भए पहिलो चरणमै देउवाले ५० प्रतिशत ल्याउन सक्ने भन्दै धेरैले सिटौलालाई सम्झाउन खोजेका छन्। तर, सिटौलाको दाबी छ, पहिलो राउन्डमा देउवाको ५० प्रतिशत कुनै हालतमा पुग्दैन।

सिटौलाले अहिलेसम्मका महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्ष देउवा पक्षभन्दा करिब २ सय ५० मतले अघि रहेको बताउने गरेका छन्। मधेसका केही जिल्लाको मत आउन बाँकी नै छ।

मधेसका सबै जिल्लाको परिणाम आएपछि र ९ गते सुशील कोइरालाको १३ दिनको काम सकिएपछि रामचन्द्र र सशांकले संस्थापन पक्षका आकांक्षीसँग कुरा गरेर मिलाउने प्रयत्न गर्नेछन्। संसदीय दलका नेता, मनोनित महामन्त्री र एक उपसभापति गरी तीन पदको ‘अफर’ उनीहरूसँग रहनेछ। यी तीन पदमा क्रमशः कृष्ण सिटौला, प्रकाशमान सिंह र रामशरण महतलाई व्यवस्थापन गर्न सके बल्ल पौडेल र सशांकले आधा लडाइँ जित्नेछन्।

त्यसपछिको आधा लडाइँ देउवा पक्षसँग चुनावको प्रतिस्पर्धामा हुनेछ।

देउवा पक्ष कति बलियो?

देउवाका लागि १३औं महाधिवेशन कांग्रेस सभापति बन्ने सबैभन्दा बलियो अवसर मात्र हैन, यो उनका लागि अन्तिम मौका पनि हो। तीन–तीन पटक प्रधानमन्त्री भइसकेका देउवामा आफू पहिलोपटक प्रधानमन्त्री बनेको २० वर्षपछि पनि सारा जीवन समर्पण गरेको पार्टीमा सभापति बन्न नसक्नुको पीडा छ। त्यसैले, देउवाले यसपालि आफ्नो सम्पूर्ण तागत परिचालन गरेका छन्।

अघिल्लो महाधिवेशनको तुलनामा आफ्नो पक्षले अहिलेसम्मको प्रतिनिधि चयनमा राम्रो प्रगति गरेको देउवा पक्षको आँकलन छ। तर, यसबाट नहौसिन र अझै मिहिनेत गर्न देउवाले आफू पक्षका नेता–कार्यकर्तालाई सम्झाउने गरेका छन्।

देउवा पक्षको यसपालिको रणनीति प्रस्ट छ– संस्थापन पक्षका मानिस तानेर पदाधिकारी बनाउने र चुनाव जित्ने। कांग्रेसमा ६० र ४० को गहिरो विभाजन छ। पार्टी एकीकरण गर्दा नै लागेको ६० र ४० को भागबन्डाले नै अझसम्म चुनाव परिणाम प्रभावित गर्दै आएको छ। यसलाई तोड्न देउवाले अघिल्लो पटकका आफ्ना महामन्त्री उम्मेदवार विमलेन्द्र निधीलाई यसपालि चुनावमा नउठ्न राजी गराएका छन्। संस्थापन पक्षबाट वरिष्ठ र व्यक्तिगत भोट भएका नेताहरू आए उनीहरूलाई मिलाउन देउवासँग महामन्त्रीका निर्वाचित र मनोनित गरी दुईवटा पद छन्।

त्यसो त सुशीलको निधनपछि दुवै पक्षलाई मिलाएर लैजाने प्रस्ताव लिएर देउवा संस्थापनसमक्ष नपुगेका हैनन्। पहिलो प्रस्ताव उनले स्वयं सशांकसँग राखेका हुन्– मिलेर आफू सभापति र सशांक महामन्त्रीमा लड्ने। सशांकले मानेनन्। अर्को प्रस्ताव उनले आफ्ना विश्वासपात्रमार्फत् पौडेलकहाँ पठाए– आफू सभापति र पौडेल संसदीय दलका नेता बन्ने।

देउवाभन्दा अघि नै नेपाली कांग्रेसको सदस्य बनेका पौडेलले पनि त्यो ‘अफर’ स्वीकार गरेनन्।

अहिले देउवाको रणनीति संस्थापन पक्षबाट उपलब्धमध्ये सबैभन्दा बलियो नेतालाई आफ्नो प्यानलबाट महामन्त्रीमा उठाउने हो। उनको यो अफर शेखरका लागि पनि छ, तर उनी तयार छैनन्। सुजाताले अहिलेसम्म त्यो अफर पाएकी छैनन्, पाए जान्छिन् वा जान्नन् टुंगो छैन।

अहिलेसम्म अर्जुननरसिंह केसी भने त्यसका लागि प्रस्टै इच्छुक देखिएका छन्। उनले संस्थापन पक्षका नेतालाई आफ्ना लागि संस्थापनमा ठाउँ नपुग्ने भएकाले देउवासँग जाने खुलेरै बताएका छन्। जम्मा १ सय ५० जति भोट ल्याउन सक्ने दुई जना नेता संस्थापन पक्षबाट तान्न सके आफूहरूलाई सहज हुने देउवा पक्षको विश्लेषण छ।

चुनावलाई केही प्रभाव पार्नसक्ने अर्का ‘फ्याक्टर’ खुमबहादुर खड्का पनि हुन् ।

पार्टीभित्र खुमबहादुर खड्काको ओज र भोट दुवै पहिलेभन्दा घटेको छ। अघिल्लोपटक उनी धेरै प्रभावशाली थिए। सुशीलसँग मनोनित निर्वाचित नभए मनोनित महामन्त्रीको ग्यारेन्टी मागे। कोइरालाले उनलाई महामन्त्री उम्मेदवार बनाउन नसक्ने, तर मनोनितमा पछि सल्लाह गर्ने जवाफ दिए।

त्यसपछि देउवासँग गएर खड्काले आफूले भनेका दुई जनाले सह–महामन्त्री र कोषाध्यक्ष पाउनुपर्ने लिखित सहमति गराए। त्यही सहमतिअनुसार चित्रलेखा यादव कोषाध्यक्ष उम्मेदवार बनेर जितिन्, खड्का पछि सह–महामन्त्री बने।

बिमारले थलिँदै गएका र पार्टीको केन्द्रबाट धकेलिँदै गएका खड्काको ताप पहिलेजस्तो नभए पनि उनले ७०–७५ भोट प्रभावित गर्न सक्ने दुवै पक्षका नेता स्विकार्छन्। सुशीलको निधनपछि भने उनी संस्थापन पक्षसँग पनि जान सक्ने ढोका खुलेको छ। रामचन्द्र र सशांकले त्यो प्रयत्न गर्ने पनि छन्। देउवाले त आफूसँगै राख्न खोज्ने नै भए।

भारत ‘फ्याक्टर’

पार्टीभित्रको आउने चुनावमा देउवाका लागि अर्को महत्वपूर्ण ‘फ्याक्टर’ भारत हो। १२औं महाधिवेशनताका राकेश सूद भारतीय राजदूत थिए। देउवाका एक विश्वासपात्र नेताले सूदसमक्ष उक्त महाधिवेशनमा भारतले देउवालाई सघाउन प्रस्ताव राखे। सूद पनि व्यक्तिगत रूपमा देउवालाई रुचाउँथे। उनले भने, ‘म यो हप्ता दिल्ली गएर आउँछु, त्यसपछि भन्नेछु हाम्रो समर्थन कसलाई हुन्छ।’

दिल्लीबाट फर्केर उनले भने, ‘दिस टायम, अर्डर अफ आवर पोलिटिकल लिडरसिप अन एनसी इलेक्सन इज टु स्टे न्युट्रल।’ अर्थात्, ‘नेपाली कांग्रेसको चुनावमा यसपालि तटस्थ बस्ने हाम्रो राजनीतिक नेतृत्वको निर्देशन छ।’

सायद राष्ट्रपति रामवरण यादवका कारण पनि भारतले अघिल्लो चुनावमा देउवालाई सघाउन चाहेन। देउवा पक्षको आरोप भने भारत र यादव दुवैले कोइरालालाई सघाए भन्ने छ।

भारतको रामचन्द्रभन्दा देउवासँगै कसिलो सम्बन्ध छ। तर भारतले यसपालि कसैलाई सघाउछ कि सघाउदैन हेर्न बाँकी छ। एक नेताले भने, ‘भारतले चाहे १०० मतसम्म सजिलै यताउता गर्न सक्छ।’

गगन महामन्त्रीका ‘सरप्राइज’ उम्मेदवार

यसपालिको मधिवेशनमा संस्थापन र देउवा पक्षलाई चुनौती दिँदै एउटा सरप्राइज घोडा पनि रेसमा हुनेछ– गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिनेछन्। उनको उम्मेदवारीले कांग्रेसको आउने चुनावलाई रोमाञ्चकारी बनाउने छ।

संस्थापन र देउवा पक्ष दुवैले गगनले महामन्त्रीमा उम्मेदवारी दिने कुरालाई गम्भीरतापूर्वक लिएका छैनन्। उनी उठे भने त्यसले चुनावलाई तरंगित पार्ने र चुनावको परिणाम उथलपुथल पार्नसक्ने उनीहरू स्विकार्छन्।

गगनको टिम चुनावको पूर्ण तयारीमा होमिएको छ। महाधिवेशन प्रतिनिधिको विश्लेषण र उनीहरूसँग सम्पर्क जारी छ। उनले यसपालि चुनावमा उठ्ने टुंगोमा पुगेपछि नै अबको १५ वर्षपछि राजनीतिबाट अवकाश लिने घोषणा केही दिनअघि गरेका हुन्।

गगनका ससुरा अर्जुननरसिंह केसी देउवा पक्षबाट महामन्त्रीका आकांक्षी हुन्। केसीले गगनलाई महामन्त्रीमा नउठ्न र आफूलाई सघाउन अनुरोध गरेका थिए, तर उनले मानेनन्। गगनले थापा र केसी परिवारलाई आफू उम्मेदवार बन्ने जानकारी दिइसकेका छन्। उम्मेदवारीको सार्वजनिक घोषणा भने बाँकी छ।

नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका गगनको आत्मविश्वास त्यहीबेलादेखि चुलिएको हो। अहिले चुनिएर आएका प्रतिनिधिको विश्लेषणले उनको टिमको मनोबल झनै बढेको छ।

सेतोपाटीले गरेको ५० निर्वाचन क्षेत्रबाट चुनिएर आएका प्रतिनिधिको विश्लेषणमा ५७ प्रतिशतभन्दा धेरै नयाँ छन्। यी नयाँ प्रतिनिधिमध्ये धेरै युवा छन्। २०६२–२०६३ सालको जनआन्दोलनपछि दुई कांग्रेस एकीकरण भएदेखि नै नेविसंघ र तरुण दलको चुनाव भएको छैन। नेविसंघ र तरुण दलमा नेतृत्वका आकांक्षी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर आएका छन्।

अघिल्लोपटकदेखि नै प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जना प्रतिनिधि चुनिने खुकुलो व्यवस्थाले धेरै युवा प्रतिनिधि महाधिवेशनमा आएका छन्। कांग्रेस नेतृत्व बूढो पुस्तामा र महाधिवेशन धेरै हदसम नयाँ पुस्तामा सरिसक्यो। गगनको चुनावप्रतिको आत्मविश्वासको आधार यही हो। ती युवा प्रतिनिधिलाई आफू चुनिएर आए बूढाहरूको पर्खाल एकैपटकमा गल्र्यामगुर्लुम भत्किने आशा उनले देखाउन सक्छन्।

महाधिवेशन प्रतिनिधिहरूलाई व्यक्तिगत रूपमा गगनले जति सायद कसैले चिनेको छैन। थोरै जिल्ला निर्वाचन क्षेत्र छन्, जहाँ पुगेर उनले भाषण गरेका छैनन्। त्यही व्यक्तिगत सम्बन्धका कारण सभापतिमा आफ्नो उम्मेदवारलाई भोट हाले पनि महामन्त्रीमा दुवै पक्षका धेरै प्रतिनिधिले गगनलाई भोट हाल्न सक्ने विश्लेषण उनको टिमको छ।

महामन्त्रीमा संस्थापन पक्षबाट सशांक उठ्ने लगभग तय भए पनि देउवा पक्षबाट को उठ्छ टुंगो छैन। गगनले उम्मेदवारी घोषणा गरे देउवाले अर्जुननरसिंह केसीलाई उठाउन सजिलो हुन्न। देउवा पक्षका प्रतिनिधिका लागि केसी र थापा दुवै आफ्नो खेमाका नेता हैनन्। त्यस्तोमा आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका केसीभन्दा उदाउँदै गरेका थापा नै आकर्षक उम्मेदवार हुनेछन्, देउवाका लागि।

केसीले सधैं देउवालाई आफू र आफ्ना ज्वाईं एक टिम भएको भान पार्न खोजेका थिए। थापा नआउने भए केसीलाई महामन्त्री उम्मेदवार किन बनाउने भन्ने प्रश्न देउवा समूहमै उठ्न थालेको छ। देउवाले अहिलेसम्म संस्थापनबाट भोट तान्न सक्ने महामन्त्रीका अर्को उम्मेदवार भेटेका छैनन्।

यो परिस्थितिमा गगन उठे आफू नजिते पनि आफ्नो उम्मेदवारलाई हराउँछ भन्ने डर संस्थापन र देउवा पक्ष दुवैलाई छ। गगनले संस्थापन पक्षकै भोट धेरै काट्ने भएकाले सशांकलाई हराउँछ भन्ने डर संस्थापनलाई छ भने देउवा पक्षलाई त महामन्त्रीको उम्मेदवार तय गर्नै हम्मेहम्मे परेको छ। गगनको टिम भने दुवै पक्षका यिनै अप्ठ्याराबीच आफ्नो उम्मेदवार अगाडि बढ्ने आशामा छ।

उम्मेदवारी नै गगनका लागि ठूलो जित हो। केही गरी परिणाम आफ्नो पक्षमा नआए पनि एजेन्डाविहीन कांग्रेस महाधिवेशनमा आफ्नो एजेन्डा स्थापित गर्न पाउँछन्। पार्टीको संगठन र चरित्र परिवर्तनको मुद्दा उठाउन पाउँछन्।

कांग्रेस महाधिवेशन सधैं को जित्ने र को हार्नेमै सीमित रहन्छ। नीति र एजेन्डाबिनाको महाधिवेशन सधैं ‘महाचुनाव’ मात्र हुने गरेको छ। गगनजस्ता युवा नेताको प्रस्ताव क्रियाशील सदस्यता खारेज गर्ने, संगठनको प्रारुप परिवर्तन गर्ने लगायत छ। समसामयिक राजनीतिक तथा सामाजिक सवालमा पनि उनीहरूको एजेन्डा बढी प्रगतिशील छ।

चुनाव हारे नै भने पनि गगन एजेन्डाको र एउटा धारको नेताका रूपमा स्थापित हुनेछन्।

चुनाव जिते भने त्यो उनको जित मात्र हुने छैन, पार्टीभित्र कोइरालाहरूको राजनीतिक भविष्य नै संकटमा पर्नेछ।

‘बिपीको पार्टी’ भित्र कोइरालाहरूले त्यस्तो संकट कमै भोगेका छन्।

मृत्युले ल्याउने संकटलाई सहज रूपमा लिने कोइरालाहरूले आफ्नो राजनीतिक जीवनको संकटलाई कति सजिलोसँग ग्रहण गर्लान्!

378 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons