News Nepal

दिल्ली सम्झौताका आलोचक ओली भरोसा खोज्न दिल्लीतिरै

प्रकाशित मिति : 10:19 pm, February 17, 2016

 

भारतको औपचारिक भ्रमणको तीन दिनअघि प्रधानमन्त्री केपी ओलीले धरहराको भग्नावशेषमा उभिएर त्यसको पुननिर्माणका लागि एक महिनाको तलव चन्दा दिए। देशका विभिन्न जिल्लामा भुईंचालोले लडाएका घरहरु अहिलेसम्म ठडिन सकेका छैनन्। जनताको चिल्लीबिल्ली छ। हाहाकार छ। घरवास नभएका जनताको मनमा प्रचण्ड पीडा छ। पुननिर्माणका लागि बनेको आयोग अकर्मण्य र नालायक छ। देशका कार्यकारी प्रमुखलाई भने धरहरा ठड्याउने हतार छ। यही त होला नि, काशी काश्मिर अजव नेपाल।

हामी नेपाली पहाड, पर्वत र हिमालका उचाइमा बाँचेका प्राणी। उचाइ न भै हामी बाँच्नै सक्दैनौं। धरहरा काठमाडौं खाल्डोको उचाइ थियो। शहरमा त्यो भन्दा अग्ला गगनचुम्वी घरहरु बनिसकेपनि पुर्ख्र्यौली शान थियो धरहरा। एउटा यस्तो प्रतीक, जसको उपयोगिता अतीतका चलनलाई वर्तमानमा सक्रिय राख्नुबाहेक अरु केही थिएन।

pmoli

पुर्ख्र्यौली शासकहरुको शान, हाम्रो गौरव। धरहराको वार्दलीबाट विगुल वजेपछि काँठदेखि शहरसम्मका मानिस टुँडिखेलमा हुकुम सुन्न कुदनैपर्ने बाध्यता। भन्छौ हामी देश आधुनिक भै सकेको छ। तर, इतिहासमा बाँच्न छाडेका छैनौं। हामी भूतका कथामा वाँच्न अभिशप्त छौं। साँच्चै, लेखक कुमार नगरकोटीको कल्पनामा आएको घाटमाण्डौमा परिणत हुँदैछौं हामी। खाली पात्रहरुको फेरवदलमात्र भएकोछ। बाँकी सवै यथास्थिति छ, अर्थात उहिलेको स्थिति।

भुईंचालोले धरहरालाई नठुन्क्याएको भए काठमाडौंले वैशाख १२ गते प्रकृतिको त्यो विनास लीला सहज ढंगले विर्सिइ सक्ने थियो होला। अहिले त्यही विनास लीला सुरक्षा कवच बन्दैछ प्रम ओली र उनको सरकारको परराष्ट्र नीतिको। उनले नियुक्त गरेका विद्वान विशेषज्ञहरु सुझाव दिँदैछन्, भारत भ्रमणमा प्रम ओलीले हालै खुलेको भारतको अघोषित नाकाबन्दीको चर्चाभन्दा भुईंचालोको बेला उसले गरेको उदार सहयोगको चर्चा गर्नु राम्रो कूटनीति हुनेछ। प्रम ओलीको भ्रमण भारतसँग सम्वन्ध सुधारका लागि हुन लागेको हो। यस्तो बेला “बुरा मत कहो, बुरा मत देखो, बुरा मत सुनो।” गान्धी बाबाको देशमा जाँदा खराब कुरा नबोलेकै राम्रो, नसुनेकै राम्रो, नदेखेकै राम्रो। विद्वानहरुले त सुझाव दिए दिए। उदेक लाग्दो कुरा, नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक रुपमा नै प्रम ओलीलाई यसो गर र उसो नगर भनेर सुझाव दियो। कस्तो अचम्म।

हामीले दक्षिण एशियाको फुटबल प्रतियोगिता जित्यौं। खुशी भयौं। खुशीको उन्मादमा सामाजिक सन्जालमा केही पंक्तिहरु लेख्यौं – भारतीय प्रधानमन्त्री मोदी फुटबलमा आफनो पराजयपछि डाँको छोडेर रोयो। कसो कसो वीरगन्जको नाका ह्वात्तै खुल्यो। हामीले फेरि उन्मादमा लेख्यौं – हाम्रा प्रम ओलीले लिनु भएको राष्ट्रिय अडानले आत्तिएर भारतले आफैं नाका खोल्यो। हामीले लेख्यौं र जित्यौं। यत्तिले नै हामीलाई सन्तुष्ट बनायो। मधेशका नेता राजेन्द्र महतोले प्रम ओलीसँग टेलिफोन वार्ता गरेर वीरगन्ज नाका खोल्नुपर्छ भनेपछि उनको हाइहाइ गर्नेहरु उत्तिकै संख्यामा देखिए जति नाकावन्दीगर्दा उनका पुतला दहन गर्नेको संख्या थियो।

नेपालका नेता, अभिनेता र सबै प्रकारका बिक्रेताहरु लामो समयसम्म नेपालको जलस्रोतको विकास हुन नसकेको गुनासो गर्दछन्। राज्य–सत्ताका सुतुरमुर्गहरुले अर्थतन्त्रमाथि आफनो वर्चस्व कायमराख्न भारतीयहरु चलाख छन् उनीहरुले हामीलाई सजिलै ठग्दछन् भन्ने मानसिकता थोपरेका छन राजधानी काठमाडौंमा। लौ पुराना पुस्तामा मानिसलाई त भारतले ठग्यो ठग्यो। नयाँ पुस्ताका मानिसहरु पनि त छन देशमा। एकसेएक विशेषज्ञहरु छन। हार्वड, क्याम्व्रिज, अक्सफोर्ड पढेर आएका। व्यापारिक सम्झौता गर्ने कलामा पोख्त र चुस्त युवकहरुको अभाव छैन देशमा। देश कसरी फाइदामा रहन्छ त्यसरी सम्झौता गर्नसक्ने जनशक्तिको पहिचान र प्रयोग दुवै गरिदैन। त्यसोगर्ने वित्तिकै राष्ट्रिय स्वाभिमानको मन्त्रोच्चारणगर्दै भारतबाट ठगिने डर देखाएर जनता ठग्नेहरुको हालीमुहाली सकिन्छ।

हाम्रो राष्ट्रिय स्वाभिमान त्यतिवेला स्खलित हुन्छ जब थोरैमात्रामा भएको विजुलीको उत्पादन घटेर देश अँध्यारो हुन्छ हामी भारतसंग विजुली किनेर देश झिलिमिली पार्छौ। अब एक दुई दिनपछि असी मेगावाट विजुली भित्रिने छ नेपालमा भारतबाट। नाकावन्दी शुरुहुने वित्तिकै देशमा भित्रिएर घर घरमा थन्किएका इण्डक्सन कुकरहरु परिचालित हुनेछन्। जनतालाई कत्रो राहत। काठमाडौंमा पेट्रोल छ, डिजेल छ, ग्याँस छैन। यसमा पनि सामाजिक संजालमा प्रतिक्रिया आउन सक्दछ, भारतलाई आफनो बिजुली बेच्नु रहेछ र पो पापीले ग्यास पठाएन।

हामीले हाम्रो भूगोललाई धेरै दोष दियौं। हामीसंग पहाडमा कुदने क्षमता छ। भूगोल बदल्ने छैन। सरकारले नाकावन्दीबाट उत्पन्न गरेको संकट समाधानको जिम्मा तस्करहरुको हातमा नदिएसम्म हाम्रो आन्तरिक अभाव पूरा गरी दिन हामीले चीन गुहार्यौं। उसले सुन्यो पनि। उसका प्रेमिल वचनहरुले भारतले दुखाएको हाम्रो चित्तमा मलम लगायो। केही मात्रामा सहयोग स्वरुप तेल पनि आयो। त्यसपछि त्यो कुरा त्यहीं टुंगिए बराबर भयो। हामी आफैं त केही गर्नै सक्दैनौं। हाम्रो भूगोललाई मात्र होइन राजनीतिलाई पनि भारतकै भरोसा चाहिन्छ। कांग्रेसका सिध्दान्तनिष्ठ भनिने नेता रामचन्द्र पौडेल त्यही भरोसाको खोजीमा हरिद्वारस्थित बाबा रामदेवको आश्रम हुँदै दिल्ली पुगे। माओवादीका प्रचण्ड दिल्लीको झिल्ली र खिल्ली उडाउँछन र दिल्लीतिरै हेर्छन भरोसाका लागि। दिल्ली सम्झौताकाविरुद्ध उभिएका कम्युनिष्ट नेता प्रम ओली त्यही भरोसाको खोजीमा दिल्ली जाँदैछन। त्यो पनि फागुन सात गते जसको माउ दिल्ली सम्झौता नै थियो।

यही हो विन्दास देश। हामी नै हौं विन्दास जनता। इतिहासको गौरवको भारले थिचिएका हामी नेपालीका लागि आज वाँचे पुग्दछ। भोलिको चिन्ता भोलिको पुस्ताले गरोस। खाइसार कि लाइसार, मरेपछि लम्पसार।

414 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons