News Nepal

प्रधानमन्त्रीको चीन भ्रमणका १५ एजेन्डा : मदन भण्डारी कलेजलाई सहयोग माग्नेदेखि बैंकको शाखा खोल्नेसम्म

प्रकाशित मिति : 3:28 pm, March 14, 2016

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा व्यापक छलफल र सुझाव लिन शुरु गरेका छन् । तर, उनले मन्त्रीहरुलाई गरेको विफ्रिङमा भ्रमणका एजेन्डा रोचक देखिएका छन् । चीनसँग व्यापार, लगानी, पर्यटन र दुई देशीय परियोजनामा सम्झौता गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री चैत्र ७ देखि साताव्यापी चीन भ्रमणमा जाँदैछन् ।

Pm-China

उनले राष्ट्रपति सी जिङपिङ लगायतका उच्च अधिकारीसँग भेट गर्नेछन् । केही मन्त्रीहरुसँग गरिएको कुराकानीलाई आधार मान्दा यस्ता छन् प्रधानमन्त्रीका एजेन्डाः १–व्यापार तथा पारवहन सन्धि : नेपाल र चीनवीच व्यापार तथा पारवहन सन्धिको प्रस्तावित मस्यौदा आदान–प्रदान भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका बेला यसलाई सम्झौताको रुप दिने तयारी भएको छ । २–स्वतन्त्र व्यापार सम्झौता : भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता एपटिए गर्ने तयारी प्रधानमन्त्री ओलीको छ । नेपालले यस सम्बन्धी पठाएको मस्यौदामाथि चीन सकरात्मक रहेको बताइएको छ । ३–इन्धन खरिद : नेपालमा खपत हुने इन्धनको ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सरकारी निर्णय अनुसार चीनसँग खरिद सम्झौता गर्ने तयारी छ । मुल्य समायोजन लगायतका केही विषय टुंगाउन वाँकी छ । ४–तेल भण्डारण केन्द्र स्थापना : पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको खैरेनीटार र काभ्रेको पाँच खालमा भण्डारण केन्द्र निर्माणबारे कुराकानी अघि बढाउने प्रधानमन्त्रीको तयारी छ । ५– चिनियाँ परियोजनाको बिफ्रिङ : नेपालमा चिनीयाँ लगानीमा भइरहेका परियोजनाको कामको प्रगतिबारे ध्यानाकर्षण गराउन र भूकम्पपछिको पुनःनिर्माणका लागि ठोस प्रस्ताव लैजाने पनि तयारी छ । ६–चत्रपथ विस्तार : काठमाडौं चक्रपथ विस्तारलाई थप अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्ने एजेन्डा बनाएका छन् । ७– अरनिको राजमार्ग विस्तार : अरनिको राजमार्ग विस्तार पनि प्रधानमन्त्री ओलीको भ्रमणको एजेन्डा बन्ने छ । ८–क्रस बोर्डर ट्रान्समिसन लाइन : क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणका विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् । ९–काठमाडौं पोखरा रेलवे : काठमाडौं पोखरा रेलवे निर्माणको परियोजनावारे पनि छलफल गर्ने मन प्रधानमन्त्री ओलीले बनाएका छन् । १०–सिभिल अस्पताल विस्तार : चिनियाँ सरकारमा बानेश्वरमा बनेको सिभिल अस्पतालको विस्तारलाई पनि प्रधानमन्त्री ओलीले आफ्नो चासोमा राखेका छन् । ११–एक्जिम वैंकको शाखा : नेपालमा एंक्जिम वैंकको शाखा स्थापनालाई पनि प्रधानमन्त्री ओलीले एजेन्डा बनाउन चाहेका छन् । १२–मदन भण्डारी कलेजलाई सहयोग : भारतीय सहयोगमा भवन निर्माण भएको मदन भण्डारी कलेजलाई चिनियाँ सहयोग जुटाउन पनि प्रधानमन्त्रीले कुराकानी गर्नेछन् । १३ सीमासम्म रेल : नेपालको सीमाक्षेत्रसम्म रेलसेवा विस्तारको विषयलाई पनि प्रधानमन्त्रीले महत्वका साथ उठाउने छन् । केरुङ नाका बर्षभरि संचालन, किमाथांका र कोरला नाका खोल्ने विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् । १४–गोन्जाउमा बाणिज्य दूतावास : गोन्जाउमा बाणिज्य दूतावास स्थापनालाई पनि प्रधानमन्त्री ओलीले एजेन्डा बनाउँदैछन् । १५–भूकम्प पीडितलाई सहयोग : भूकम्प पीडितलाई आर्थिक र भौतिक सहयोग जुटाउने विषयलाई पनि प्रधानमन्त्री ओलीले आफ्नो एजेन्डामा राख्नेछन् । चीनले चाहेको छ १–सुपुर्दगी सन्धिी र आपसी कानुनी सहायता सन्धीको मस्यौदा प्रस्ताव गर्न २–नेपालको पेट्रोलियम उख्खनन् सम्बन्धी सम्भवाव्यता अध्ययनमा लगानी ३–बौद्धिक सम्पती अधिकार सम्बन्धी सहकार्य सुझाव यस्तो छ आइतवार प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्व प्रधानमन्त्री एव्म नयाँ शक्ति, नेपालका संयोजक बाबुराम भट्टराई पनि पुगेका थिए । उनले छलफलपछि चीन घनिष्ट मित्रराष्ट्र भएकाले दुई देशको सम्बन्धलाई कसैसँग तुलना नगरी मित्रवत् रुपमा अघि बढाउन सुझाव दिएको बताएका थिए । राससका अनुसार भट्टराईले ‘अन्तर्राष्ट्रिय सम्बन्ध अत्यन्त संवेदनशील हुन्छन्, आन्तरिक तयारी गरेर जानु उपयुक्त हुन्छ, नेपाल संवेदनशील भू–राजनीति भएको र स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले प्रत्येक देशसँग स्वतन्त्र ढङ्गले सम्बन्ध अगाडि बढाउनुपर्छ, त्यस्तै चीनसँग पनि’ भनेका थिए । यस्तै, आर्थिक परनिर्भरताको अन्त्य गर्नका लागि भौतिक निर्माणको कुरामा जोड गर्नुपर्ने भन्दै भट्टराईले रसुवागढीको नेपालपट्टिको बाटो अझै पूर्णरुपमा निर्माण नभएको र रेलमार्ग जोड्नुपर्ने कुरालाई बढी प्राथमिकता दिनुपर्ने सल्लाह दिएको जानकारी दिएका थिए । अहिलेको युग कूटनीतिक भएकाले चीनको पूँजी आकर्षित गरेर नेपालको यातायात, जलस्रोतलगायतका क्षेत्रमा विकास गर्न सुझाव दिएको बताएका थिए । पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले चीनसँग विश्वासको वातावरण निर्माण गरी रेलमार्ग विकास तथा चीनको सहयोगका निर्माणाधीन योजना चाँडो सम्पन्न गर्ने सुझाव दिएको बताएका थिए । “कतिपय योजनामा ढिलाइ भएको छ, चीनको लगानी नेपालमा विगतमा भएको प्रतिबद्धता कार्यान्वयन भएको छैन, त्यो हुनुप¥यो’ उनले भनेका थिए । पूर्वपरराष्ट्रमन्त्री महतले लगानी विस्तार गर्न दुई देशको सम्बन्धलाई अझ बलियो बनाई चीनको बजारमा नेपालको सामानको व्यापार विस्तारलगायतका विषयमा सुझाव दिएको बताए । प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले सरकारको आसन्न चीन भ्रमणका क्रममा दुई देशबीचको उच्चस्तरको सम्बन्ध, विश्वासको वातावरण बनाई पारवहन सम्झौता र व्यापारिक सम्झौता गर्नुपर्ने सुझाव आएको जानकारी दिएका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, पूर्वप्रधानमन्त्री डा भट्टराई, पूर्वपरराष्ट्रमन्त्रीहरू डा महत, रमेशनाथ पाण्डे, महेन्द्र पाण्डे, ईश्वर पोखरेल, माधव घिमिरे तथा पूर्वपरराष्ट्र सचिवहरू सहभागी थिए । प्रधानमन्त्री ओलीले आइतवार आफ्नो चीन भ्रमणवारे पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवसँग परामर्श गरेका थिए । आइतवार नै एमालेको स्थायी समिति वैठकले प्रधानमन्त्री ओलीको भ्रमणलाई फलदायी बनाउन विभिन्न सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले आउँदो चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिएको एमाले सचिव योगेश भट्टराईले बताएका थिए । बैठकले दुई देशको व्यापार सम्झौतालाई दीर्घकालिन हितमा परिणत गर्नेगरी फलदायी बनाउन उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, ग्यास र नुनको व्यापारसम्बन्धी सहमति गर्न पनि सुझाव दिएको थियो ।

408 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons