News Nepal

भारतीय विदेशमन्त्रीले गरिन् प्रधानमन्त्री दाहालको स्वागत

प्रकाशित मिति : 8:50 am, September 15, 2016

csyhehxvmaamiwe
चार दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री दाहाललाई स्वागत गरेकी थिइन्।
 प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजवीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले भनिन्,‘तपाईको यो भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं, आगामी दिनमा दुईदेशवीचको सम्बन्ध प्रगाढ र विश्वासका साथ अघि बढ्छ ।’
स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताईन् ।  यता प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने दाबी गरे ।
नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए। तर, ०६२/६३ को आन्दोलन पछि भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले स्वागत गरेका थिए।
यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गरेका थिए भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदा चिफ अफ प्रोटोकलले स्वागत गरेका थिए। पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीलाई पनि स्वराजले नै स्वागत गरेकी थिइन्।
विदेशका कतिपय अत्यन्तै महत्वपूर्ण नेताले भारत भ्रमण गर्दा पनि प्रधानमन्त्री आफैं विमानस्थल गर्ने गरेका छन्।  यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गरेका थिए।
१ सय १६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बिहिबार अपरान्ह नयाँ दिल्ली पुगेका हुन्।  विमानस्थलबाट प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपतिको भवन गएका छन्। भ्रमण अवधिभर उनी राजकीय पाहुनाको हैसियतमा राष्ट्रपति भवनमा बस्ने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
भारत भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कने छन्।

214 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons