News Nepal

भिमा लिम्बूको वियोगान्त कथा – दैव यति निर्दयी हुन सक्छ ?

प्रकाशित मिति : 9:30 am, September 15, 2016

३० भदौ, क्वालालम्पुर । यो यस्तो वियोगान्त कथा हो, जुन कसैले भोग्नु नपरोस् । नियति कतिसम्म निर्दयी भइदिन्छ ? यसको उदाहरण हुन्, मोरङ सिुजवा-८ की भिमादेवी लिम्बू ।

सिउँदोमा सिन्दूर हालेको केही समयमै भारत पसेका पति भगिमान त्यसपछि कहिल्यै फर्केनन् । ३५ वर्षदेखि बेपत्ता छन् । पति बेपत्ता भए पनि उनले छोराको मुख हेरेर चित्त बुझाएकी थिइन् ।

एक दिन छोरा पनि हुर्केर ती आमालाई बुहारी र नाति जिम्मा लगाउँदै मलाया (मलेसिया) पसे । यसबीचमा बुहारी र नाति गुमाइन् । १६ वर्षदेखि घर छाडेर एक दशकयता सम्पर्कविहीन बनेको छोरो आउने बाटो कुरिरहेकी थिइन् उनी ।

त्यही छोरो पनि परदेशमै मरेको खबरले ती अभागी आमाको अवस्था कस्तो भयो होला ? मलेसियामा नाम परिवर्तन गरेर बसिरहेका रत्नबहादुर लिम्बूको निधनपछि उनका सहकर्मीहरु यस्तै प्रश्न गर्न गर्दै शव नेपाल पठाउने तयारी गर्दै छन् ।

११ वर्षदेखि फोन समेत गरेनन्

हउ दाउ, घरमा आमाले के साह्रो सम्झिनुभएको छ । एकपटक घर जानुस् भन्दा अब जाने हो भन्दै बाटो लागे । आज उनलाई यो हालतमा देख्नुपर्‍यो- गाउँले राजु श्रेष्ठ

१६ वर्षदेखि छोराको मुख हेर्न तड्पिरहेकी भिमाले अब मृत छोराको एक झल्को हेर्नु बाहेक केही बाँकी रहेन । छोरो हुर्केर कमाउला र आफूलाई पाल्ला भन्ने भिमाको सपना कहिल्यै पूरा भएन । जीवनमा पीडा र आँसु बाहेक उनले केही पाइनन् ।

११ वर्षअघि छोरासँग उनको फोनमा कुरा भएको थियो । त्यसपछि आमाले छोराको स्वर कहिल्यै सुन्न पाइनन् । छोरासँग बोल्ने ती आमाको सपना अब यो जीवनभरका लागि समाप्त भएको छ । कहिल्यै नबोल्ने गरी छोरा उनको आँगनमा पुग्दै छ ।

सहकर्मीहरुका अनुसार आमाले ११ वर्षअघि ‘छिटो घर आइज, म धेरै थाकिसकेँ’ भनेकी थिइन् । तर, उल्टो भयो । छोरा रत्नबहादुर जीवनदेखि थाके झैं प्राण बिसाए ।

३५ वर्षदेखि पति बेपत्ताः बुहारी र नाति पनि बिते

रत्नबहादुरका बुबा ३५ वर्षदेखि बेपत्ता छन् । बुबाको मुख नदेखी मलेसिया भासिएका उनी आमा र परिवारका लागि निर्दयी नै बने । १६ वर्षअघि मलेसिया छिरेदेखि कहिल्यै घर फर्किएनन् ।

घरमा आमा, श्रीमती र नाबालक छोरालाई छाडेर उनी मेलेसिया आएका थिए । मलेसिया आएको केही वर्षपछि नै ९ वर्षका छोराको नेपालमा मृत्यु भयो । छोराको मृत्युपछि उनले घरमा आमा र श्रीमतीलाई सम्पर्क गर्न छाडिदिए ।

नातिको मृत्यु भएपछि बुहारीको सहारामा थिइन् भिमा । तीनै बुहारीको पनि क्यान्सरबाट मृत्यु भयो । पतिसँगको बिछोड, बुहारी र नातिको वियोग सहदै बाँचेकी भिमाको एकमात्र आशाको त्यान्द्रो बनेको छोरोको प्राण पनि चुँडियो ।

‘एउटी महिलाका लागि वियोग र पीडाको यो भन्दा बढी सजाय के हुन सक्छ ? दैव पनि यस्तै निमुखामाथि निर्दयी बन्दो रहेछ,’ मलेसियामा रत्नबहादुरसँगै काम गर्ने उनका सहकर्मीहरु भन्छन् । जन्म दिने आमाप्रति कहिल्यै दयालु बन्न नसकेका उनको मृत्युपछि अब ती बुढी आमाका सबै सपनाको अन्त्य भएको छ ।

अर्कैको पासपोर्टमा बसेका थिए रत्नबहादुर

भदौ १७ गते नेपाली कामदार कृष्णबहादुर बुढाको मृत्यु भएको खबर नेपालीहरुबीच फैलिएको थियो । तर, बुझ्दै जाँदा थाहा भयो, सल्यानका कृष्णबहादुर बुढा नै मोरङ सिजुवाका रत्नबहादुर लिम्बू रहेछन् । उनी कृष्णबहादुर बुढाको नामको पासपोर्टको फोटोकपीका भरमा मलेसियामा बस्दै आएका रहेछन् । जसलाई मलेसियामा ‘जलान कार्ड’ भनिन्छ ।

सुरक्षा गार्डमा काम गर्ने रत्नबहादुरलाई मलेसियामा चिन्ने-जान्नेले रत्न दाइ भन्थे । तर, पासपोर्टको फोटोकपी भने कृष्णबहादुरको नामको बोक्थे । बिरामी परेका उनलाई अस्पतालमा पनि त्यही नाममा भर्ना गरिएको थियो ।

घर जाऊ भन्दा कहिल्यै मानेनन्

 

घाँटीमा घाउ भएर अस्पताल भर्ना भएका उनको अस्पताल पुगेको पर्सिपल्टै मृत्यु भएको उनकै नजिकको गाउँका राजु श्रेष्ठले बताए । शवको पहिचान गर्न उनका गाउँलेहरु खोज्ने क्रममा राजु भेटिएका हुन् ।

किरात याक्थुम चुम्लुङको टोली सहित अस्पताल पुगेका राजुले शव देख्ने बित्तिकै यो रत्नबहादुर हो भने । राजु र साथीहरुको ठम्याइपछि मात्रै दूतावासले कृष्णबहादुर भन्ने रत्नबहादुर नै हो भनेर प्रमाणित गरेको हो ।

६ वर्षअघि रत्नबहादुरलाई भेटेका गाउँले राजु श्रेष्ठले अस्पतालमा शव हेरेपछि रत्नलाई यसरी सम्झिए – ‘जोहोरवारुको सिटी स्वायरमा जम्काभेट भयो । तर, उनी मसँग बोल्न चाहेनन् । हउ दाउ, घरमा आमाले के साह्रो सम्झिनुभएको छ । एकपटक घर जानुस् भन्दा अब जाने हो भन्दै बाटो लागे । आज उनलाई यो हालतमा देख्नुपर्‍यो । घरमा आमाको हालत साह्रै दर्दनाक छ ।’

वाह्र वर्षअघिदेखि चिनजान भएका संखुवासभाका गजेन्द्र जिमिलाई समेत रत्नले मलेसियामा काम लगाइदिएका रहेछन् । मलेसियामा केही पर्‍यो भने रत्न बेलाबेलामा गजेन्द्र भएको ठाउँमा आउने गर्थे ।

रक्सी र रोगले लग्यो

रत्नबहादुरलाई घर जानुस् भनेर गजेन्द्रले पनि धेरै सम्झाएका रहेछन् । शव हेर्दै उनले भने, ‘घर जानुस् भनेर सम्झाउँदा अब जाने हो भनेका थिए । तर, पछि फेरि मलेसियामै भेटिए । पछिल्लो अवस्थामा उनको घाँटीमा खटिरा जस्तो आएको थियो । डाक्टरले केही दिनमा अपरेशन गर्नुपर्छ भने पनि उनी आफैंले घाउ फोरेपछि यस्तो भएको हो ।’

रत्नबहादुर काममा जाँदा पनि रक्सी पिउने भइसकेका थिए । गजेन्द्र भन्छन्, ‘ड्युटीमा बस्दा पनि रक्सी खान्थे । रक्सीले टाउको दुखायो भन्दै प्यानाडोल एकै पटकमा दशवटा सम्म खाने गर्थे । घर फर्काउन लाख कोसिस गरियो, तर अब लाश मात्र फर्किने भयो ।’

झापा कोहवराका मानबहादुर लिम्बूले रत्नबहादुरलाई पछिल्लो पटक सुगाइबुलोको एक कम्पनीमा सुरक्षागार्डको जागिर लगाइदिएका रहेछन् । दश वर्षदेखिको चिनजानका साथीलाई उनले पनि घर जान पटकपटक सुझाव दिएका थिए ।

‘घर फर्काउन निकै प्रयास गरियो । टिकट मै हाल्दिन्छु जाऊ दाजु घर भनेको हो । तर, रक्सी र औषधिले उनी पागल जस्तै भइसकेका थिए’ मानबहादुरले सम्झिँदै भने, ‘आमालाई सम्भिmएर कहिल्यै एक कल फोन गरेको पनि थाहा पाइएन । साह्रै निष्ठुरी छोरो !’

निष्ठुरी दैव, जवाफ दे !

 

गाउँबाट प्राप्त खबर अनुसार १६ वर्षदेखि घर छाडेको छोराको मृत्युको खबर सुनेपछि आमा भिमाकुमारी अर्ध मूच्छिर्त अवस्थामा छिन् । जिउँदो देख्न नपाए पनि मरेकै भए पनि एकपटक आफ्नो मुटुको टुक्राको मुख हेर्न चाहने उनले छिमेकीहरुलाई भनेकी थिइन् ।

मलेसियामा रहेका विभिन्न संघ-संस्थाको पहलमा रत्नबहादुरको शव नेपाल फर्काइँदै छ । आमा र परिवारप्रति उदासीन एउटा निष्ठुरी छोरो रत्नबहादुरले त जीवन त्यागेका छन् । तर, एकपछि अर्को वियोग झेल्न विवश ती अभागी आमा अब कसलाई सम्झेर बाँच्लिन् ? निष्ठुरी दैव, जवाफ दे !

329 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons