News Nepal

लेखापाल ‘हत्या’ प्रकरणः के भएको थियो मंगलबार राति ?

प्रकाशित मिति : 8:05 am, September 22, 2016

६ असोज, झापा । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली पुग्दा कनकाई चप्रामारीको सडक किनारमा एक पुरुषको शव लडिरहेको थियो । त्यही बेला मृतकको गोजीमा भएको मोबाइल बज्यो । उठाउँदा फोनमा मृतकको आफन्त बाले ।

yamnath-rijal

बुधबार बिहान ६ः२० बजे कनकाई चप्रामारीमा स्थानीयले सडक किनारमा एउटा पुरुषको शव देखेपछि सुरुङ्गा प्रहरीलाई खबर गरेका थिए ।लगत्तै सुरुङ्गाका प्रहरी प्रमुख जितेन्द्र थापासहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

मृतकको सनाखत भयो । उनी रहेछन् शरणामती गाविस-५, झापाका यामनाथ रिजाल । उनको रहस्यमय ढङ्गबाट मृत्यु भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार शवको टाउकोमा चोट लागेको प्रस्टै देखिन्थ्यो, जसलाई प्रहरीले पनि पुष्टि गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा निधार र खुट्टाको औँलामा नीलो डाम देखिएको छ र उनको हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ ।

घोप्टो परेको अवस्थामा उनको शव भेटिएको स्थानीय बताउँछन् । प्रारम्भिक अनुसन्धानले मृतकले मंगलबार राति मादकपदार्थ गरेको समेत पत्ता लगाएको छ ।

को हुन् रिजाल ?

यामनाथ रिजाल शरणामती गाविसका लेखापाल हुन् । ०५२ सालदेखि गाविसमा काम सुरु गरेका उनी गाउँमा सरल, मिजासिला एवम् मिलनसार व्यक्तिको रुपमा परिचित थिए । ‘गाविसमा काम लिएर जाने कोही पनि निराश भएर फर्किनु पर्दैन थियो’, स्थानीय सुमन प्याकुरेल भन्छन्, ‘उहाँले सबैलाई चित्त बुझाउनु हुन्थ्यो ।’

उनको मृत्युले अहिले सिङ्गो शरणामती शोकाकुल बनेको छ । रिजाल विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय थिए । साथै स्थानीयस्तरमा हुने सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँथे । उनका एक छोरा र दुई छोरी छन् ।

कसरी भयो घटना ?

शरणामतीका स्थानीयबासीको भेलाले दशैंको अवसरमा पाँच दिने मेला गर्ने निर्णय गरेको थियो । र, जिल्ला विकास समितिबाट सिफारिस लिन एउटा समूह मंगलबार जिल्ला सदरमुकाममा भद्रपुरतर्फ हिँड्यो । समूहमा सबै राजनीतिक दलका प्रतिनिधि, लेखापाल रिजाल, स्थानीय लय शिवाकोटी, बजार व्यवस्थापन समितिका अध्यक्ष सनित राई, सचिव केशव भट्टराई लगायत थिए ।

रिजाल र शिवाकोटीबाहेक अन्य सबै दिउँसै शरणामती फर्किएको बताइन्छ । तर, उनीहरु दुई भने अबेर मात्र सुरुङ्गा आइपुगे ।

सुरुङ्गा चोकमा आइपुगेर उनीहरु खाजा खान पाथिभरा होटल छिरे । त्यहाँ उनीहरुले खाजा मात्र खाएनन्, मदिरा समेत पिएको बताइन्छ । तर, आश्चर्यजनक कुरा त, दुवैले मदिरा सेवन गर्न छाडेको धेरै भएको थियो । पारिवारिक स्रोतका अनुसार रिजालले मदिरा छोडेको झण्डै ३ वर्ष भएको थियो भने शिवाकोटीले १ वर्षअघिदेखि मदिरा सेवन गर्न छाडेका थिए ।

पाथिभराबाट उनीहरु निस्किएपछि उनीहरु विभिन्न होटल तथा पसलमा पुगेर मदिरा सेवन गरेको पाइएको छ । र, उनीहरुले मोना कोल्ड सेन्टरबाट राति दुवै मोटरसाइकलमा निस्किएका थिए ।

तर, शिवाकोटी मात्र घर पुगे । रिजालको अत्तोपत्तो थिएन । अबेरसम्म रिजाल घर आइनपुगेपछि परिवारका सदस्यले फोन लगाए । फोन लाग्यो तर, उठेन । बिहानै रिजालको शव चप्रामारीमा भेटिएको खबर पाएपछि सबै झसङ्ग भए ।

शिवाकोटी प्रहरीको नियन्त्रणमा

आवश्यक सोधपुछ र अनुसन्धानका लागि प्रहरीले बुधबार लय शिवकोटीलाई नियन्त्रणमा लिएको छ । उनी रिजालसँगै मंगलबार रातिसम्म थिए ।

शिवाकोटी नेपाली कांग्रेस गाउँ समितिका पूर्वसभापति हुन् भने पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन् । दिउँसोसँगै गाउँबाट निस्किएको र राति अबेरसम्म पनि सँगै भएका दुई व्यक्तिमध्ये एकजना मात्र घर पुग्नुलाई स्थानीयले ‘रहस्यमय’ भनेका छन् ।

सुरुङ्गासम्म दुवै एउटै मोटरसाइकलमा सवार थिए । तर, घर फकिर्ंदा शिवाकोटी मात्र त्यो मोटरसाइकलमा आए । हेलमेट भने बुधबार बिहान रिजालको शव नजिकै भेटियो ।

रिजालका साथमा रहेका केही सामान शिवाकोटीको घरमा भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन् ।

प्रहरी अनुसन्धान

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ । उनीसहितको प्रहरी टोली बुधबारदेेखि नै शरणामतीमा छ । टोलीले ‘कल डिटेल्स’ हेरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अनुसन्धानको विषयमा केही जानकारी दिएको छैन । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरुका नाम समेत प्रहरीले सार्वजनिक गर्न चाहेको छैन ।

प्रहरीले रिजालसँग अघिल्लो दिन सँगै रहेका अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरिरहेको स्रोतले जनाएको छ । ‘दुई/तीन दिनभित्रमा पोस्टमार्टमको रिपोर्ट आउँछ, अनि मात्र थाहा हुन्छ’, प्रहरी निरीक्षक थापाले अनलाइनखबरलाई भने, ‘रिपोर्ट आएपछि हाम्रो अनुसन्धानसँग मेल गराएर तथ्य कुरा बाहिर ल्याउँछौँ ।’

उनी अनुसन्धानको विषयमा धेरै बोल्न चाहेनन् ।

443 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons